मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका राजेशको परिवार खोज्दै पीएनसीसी

 माघ २१, २०७८ शुक्रबार १४:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

नोट : उज्यालोमा समाचार प्रकाशित भएपछि उनको परिवार भेटिएको छ । पीएनसीसीले उनलाई परिवारका सदस्यसँग आफ्नो घर पठाइसकेको छ ।

काठमाण्डौ – मलेसियाबाट स्वदेश आइपुगेका एक युवाले आफ्नो घरको ठेगानासहित आफ्नो र परिवारको बारेमा सबै कुरा बिर्सदा परिवारसम्म पुर्‍याउन समस्या भएको छ । 

मानसिक रूपमा अस्वस्थ भएर  मलेसियाबाट फर्किएका उनले आफ्नो नाम राजेश तामाङ र घर काठमाण्डौ कै चाबहिल बताए पनि ठेगाना यकिन नहुँदा परिवार भेट्टाउन समस्या भएको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो ।

दूतावासले बनाएको यात्रा अनुमतिमा पनि उनको नाम राजेश तामाङ र ठेगाना काठमाण्डौ ७ लेखिएको छ । दूतावासले उल्लेख गरेको जन्म मिति अनुसार उनको उमेर २४ वर्षको रहेको छ ।

राजेश गएको पुस २९ गते नेपाल आइपुगेका हुन् । मलेसियामा रहेको नेपाली दूतावासले यात्रा अनुमति बनाएर पीएनसीसीसँग सम्पर्क गरी उनलाई नेपाल पठाएको थियो । 

दूतावासले दिएको खबर अनुसार पीएनसीसीका कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गई राजेशलाई ल्याएर अहिले पीएनसीसीकै आवास गृहमा राखिएको छ । 

‘मलेसियामा अलपत्र परेका रहेछन्, उनकाे दूतावासले उद्धार गरेर यात्रा अनुमति बनाएर पीएनसीसीसँग समन्वय गरेर नेपाल पठाएको हो, दूतावासले यस्तो यस्तो मानिस नेपाल आउँदै छन् समन्वय गरिदिन पर्‍यो भनेर अनुरोध गरेको थियो’ अध्यक्ष कार्कीले भन्नुभयो ‘नेपाल आएपछि सोधपुछ गरियो, उनलाई नै साथमा राखेर चाबहिलमा उनको घर खोज्न पनि लगियो तर दिनभरि खोज्दा पनि उनले सही ठेगाना बताउन सकेनन्, उनले भनेको ठाउँमा पुग्दा घर भेटिएन ।’

आवास गृहमा उनलाई नियमित मनोपरामर्श सेवा पनि दिइरहेको र मानसिक रोग विशेषज्ञको जाँच पछि अहिले राजेशले मानसिक रोगको औषधि पनि सेवन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । औषधि खान थालेपछि उनी केही शान्त देखिएका छन् । तर धेरैजसो समय अपत्यारिलो र अनौठा कुरा गर्छन् । 

अध्यक्ष कार्की भन्नुहुन्छ ‘घर सोध्दा मेरो काठमाण्डौमा चार वटा घर छ, कुन घर भनौँ भन्छन्, मलेसियाको बारेमा सोध्दा अब युके र अस्ट्रेलिया घुम्न जाने हो भन्ने कुरा गर्छन्, हामीले प्रयास गरिरहेका छौँ, तर उनको मानसिक अवस्थामा सुधार भएको छैन ।’

यदि तपाईँले राजेश वा उनको परिवारका कसैलाई चिन्नुहुन्छ भने सम्पर्क गर्न पीएनसीसीले अनुरोध गरेको छ । पीएनसीसीमा ९८५१११३२२१ र ९८६५३७०४१६  नम्बरमा सम्पर्क गर्न सकिन्छ । उज्यालोमार्फत पनि तपाईँले पीएनसीसीमा सम्पर्क गर्न सक्नुहुन्छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया