असोजमा बाढीले बगाएको जयपृथ्वी राजमार्गको जाल्या बगरमा सडक निर्माण कार्य सुरु

 माघ २३, २०७८ आइतबार ११:२५:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – गएकाे असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगरमा सडक पूर्ण रुपमा क्षति गरेको थियो । उक्त सडक निर्माणको कार्य अहिले तीव्र गतिमा सुरु भएको छ ।

ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले ५ करोड ६० लाखको लागतमा अहिले यो सडक निर्माणको कार्य सुरु गरेको हो । सडक डिभिजन बैतडीले ७ करोड ५० लाख रुपैयाँको टेन्डर आह्वान गरेको भए पनि ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले भ्याटसहित ५ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीका सञ्चालक शेरबहादुर बोहराले बताउनुभयो । 

‘बैशाख अन्तिमसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । हामीहरु समयभन्दा अघि नै सडक निर्माणको कार्य सम्पन्न गर्ने तरिकाले तीव्र गतिमा काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले ७० जना भन्दा बढी कामदार र ४ वटा जेसीबी लगाएर काम भइरहेको छ, फागुनको पहिलो हप्ताभित्र आरसीसीको काम समेत सुरु हुने छ ।’

जाल्या बगरको भित्तामा सडक कटान गर्नुपर्ने क्षेत्र पूरै कडा चट्टानको भएका कारण बलाष्टिङको समेत काम गर्नु पर्ने देखिन्छ । काम तोकिएको अवधिभित्रै सम्पन्न गर्ने आफ्नो तयारी भए पनि  ब्लास्टिङ गर्ने सामाग्रीहरु समयमा नपाए केही समय लम्बिन सक्ने पनि बोहोराले बताउनुभयो ।

उहाँका अनुसार ४५ मिटर जाली हाल्ने काम छ । एक सय ६० मिटर आरसीसीसहित स्ट्रक्चर गर्नु पर्ने छ भने जम्मा ४ सय मिटर स्ट्रक्चर, आरसीसी कटिङ, तथा ब्लाष्ट गर्नु पर्ने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया