बैतडीमा आत्महत्या दर बढ्दाे, ४ बर्षमा १ सयभन्दा बढीले आत्महत्या गरे

न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन

 भदौ २७, २०७५ बुधबार १८:५९:५७ | जयराज अवस्थी
unn.prixa.net

जयराज अवस्थी – बैतडीमा आत्महत्याको डरलाग्दो अवस्था देखिएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । 

गएको ४ वर्षमा जिल्लामा १ सयभन्दा बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।   

आत्महत्याको अवस्था डरलाग्दो भएकाले यसको तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्नुपर्ने जरुरी रहेको प्रहरीको भनाई छ । आत्महत्याको घटना वृद्धि भएकोले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै प्रहरी युनिटहरुबाट पनि जनचेतना जगाउने कार्य जारी राखेको छ । 

आत्महत्या मानसिक रोग भएकोले रोकथामका लागि परिवारले पनि सहयोग गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी चन्दप्रकाश ग्रैह्रेले जोड दिनुभएको छ ।
आत्महत्यालाई न्युनिकरण गर्न सचेतनामुलक अभियान संञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेकोले के कारणले तनाव भएको हो त्यो कारण पत्ता लगाई न्युनीकरण गर्न आवश्यक रहेको मनोविज्ञान सम्प्रदाय नेपाल(टिपस)का डाक्टर नरेन्द्र ठगुन्नाले बताउनुभयो । 

तनावमा रहेका व्यक्तिमा घोर्रिने, चिढिइने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागू पदार्थ सेवन गर्ने लगायतका लक्षण देखा पर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनुका साथै त्यस्तो व्यक्तिलाई सम्झाइ बुझाई गर्नु र एक्लै यताउता जान नदिन डाक्टर ठगुन्नो सुझाउनुहुन्छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया