प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आयाे : शिक्षाविद्

 फागुन ९, २०७८ सोमबार १४:५२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीबारे आज साेमवार विज्ञहरूसँग भएकाे छलफलमा शिक्षाविद्हरूले देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् । 

छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिवि आफैँमा समस्याको भण्डार भएकाले दीर्घकालीन रूपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्राध्यापक जोशीले भन्नुभयो, ‘हामी त्यस्तो विश्वविद्यालयमा खडा छौँ, जहाँ प्राध्यापकहरू विद्यार्थीहरूबाट डराउनुपर्छ । नागरिक समाजले यो सन्दर्भमा सोच्नुपर्छ । त्रिवि आफैँमा समस्याको ठूलो भण्डार हो । जनकपुरको युथ क्याम्पसलाई एउटा प्राइभेट क्याम्पसलाई दिएको सम्बन्धन फिर्ता गरिनुपर्छ । कुनै एउटा क्याम्पसले सम्बन्धन पाउनुपर्ने वा नपाउने भन्ने विषय विद्यार्थीहरूको विषय हुन सक्छ वा सक्दैन ?’

यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताउनुभयो । उहाँले विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताउनुभयो ।

प्राध्यापक मानन्धरले भन्नुभयो, ‘अहिले त त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भन्दा पनि अलिकति आत्मग्लानी हुन्छ कि भन्ने किसिमको पनि सोच कहिलेकाहीँ आउँदो रहेछ । तर आफूले राम्रो काम गरेको हो, अहिलेको स्थितिमा त मेरो के नियन्त्रण हुन्छ र भन्ने सान्त्वना आफैँले आफैँलाई दिने गर्छु म । तालाबन्दी गरेर समस्याको समाधान हुँदैन ।’

त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले कतिपय बेलामा विद्यार्थीहरूकाे विषय एक तर माग अर्को हुने गरेको पनि बताउनुभयो । प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा पनि त्यस्तै भइरहेको बतउनु भयो । उहाँले विद्यालयहरू राजनीतिक पार्टीको षड्यन्त्र गर्ने ठाउँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरूलाई शिक्षामा असर पार्न दिनबाट राेक्न सक्नुपर्ने बताउनुभयो । अहिले राजनीतिक नेतृत्वकर्ताहरूमा भइरहेको संस्कृतिको विकासका कारण नै शिक्षामा समस्या भइरहेको उहाँले बताउनुभयो ।

प्राध्यापक पोखरेलले भन्नुभयो, ‘ताला लगाउने सबै कुराको समाधान होइन । ताला लगाएर भागेर हिँड्ने प्रवृत्तिकाे म पनि आलोचक हुँ । सामना गरेर समस्याको समाधान गर्न सक्नुपर्छ । नागरिक समाजले शिक्षा क्षेत्रमा राजनीतिक पार्टीका नेता र नेतृत्वहरूको जुन संस्कार देखिएकाे छ, त्यसको खुलेर विरोध र आलोचना गर्न सक्नुपर्छ । ’

त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । उहाँले देश सङ्घीयतामा गएको भने पनि भागबन्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताउनुभयो । उहाँले हरेक प्रदेशमा सरकारले एक/एक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राख्नुभयो । प्राध्यापक चेम्जोङले विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको वरीयतामा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूप्रति व्यङ्ग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरूलाई स्थान दिन सुझाव दिनुभयो ।

त्यस्तै प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीहरूको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय र प्राध्यापकहरूले अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताउनुभयो । प्राध्यापक चलाउनेले आफूमाथि गएकाे वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीहरूबाट नभइ पैसा दिएर किनेका गुण्डाहरूबाट भएको दाबी गर्नुभयो ।
त्यस्तै प्राध्यापक राजन आचार्यले आंशिक प्राध्यापकहरूको माग समान कामको समान पारिश्रमिक भएको बताउनुभयो । उहाँले प्रतिस्पर्धाबाट स्थायीका लागि जान आंशिक शिक्षकहरू तयार रहेको पनि बताउनुभयाे । 

बैठकमा ज्ञान गोष्ठीका सदस्य सुशील प्याकुरेलले शिक्षा क्षेत्र र विश्वविद्यालयको तरिकालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरूले राष्ट्रिय विषयहरूमा गहन छलफल गरेर त्यसको चिरफार गर्न आवश्यक रहेको बताउनुभयो ।

सदस्य प्याकुरेलले अन्य देशमा राष्ट्रिय मुद्दाहरूमा विश्वविद्यालयका प्राध्यापकहरूसँग सञ्चारमाध्यमहरूले छलफल गर्ने गरे पनि नेपालमा भने आजसम्म कुनै बहस हुन नसकेको र विश्वविद्यालयहरू पनि देशका मुद्दाहरूमा खुलेर यथार्थतालाई बाहिर ल्याउनेतिर लागि नपर्नु दुःखद भएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया