रुसी सुरक्षाफौजले सबै दिशाबाट आक्रमण थालेकाे छ : युक्रेनी सेना

 फागुन १६, २०७८ सोमबार १०:४१:४४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी सुरक्षाफौजले सबै दिशाबाट आक्रमण थालेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले रुसी फौजले लगभग सबै दिशाबाट आक्रमण गरिरहेको बताएका बीबीसीले जनाएको छ।

रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको २४ घण्टा आफ्नो देशका लागि निकै कठिन र महत्त्वपूर्ण हुने बताउनु भएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन संवादको क्रममा उहाँले अबको समय निर्णायक हुने बताउनु भएको हो। यस्तै, युरोपेली सङ्घ ईयूले युक्रेनलाई हतियार पठाउने काम गरिरहेको छ।

ईयूले रुसी विमानलाई आफ्नो हवाई क्षेत्र भएर उड्न र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ । यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको अमेरिकाले विरोध गरेको छ । यस्तै, रुसको साथ दिँदै आएको बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ।

सोभियत युनियनको पूर्व सदस्य तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्था नै परिवर्तन गरेको हो । जनमतसङ्ग्रहमार्फत बेलारुसले नयाँ संविधान लागू गर्ने निर्णय गरेको हो।

नयाँ संविधानले बेलारुसलाई परमाणु हतियारविहीन राष्ट्रको पहिचान खारेज गरेको छ । अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया