सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा अख्तियारले थाल्यो छानबिन

 फागुन १८, २०७८ बुधबार ११:४:४७ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियारले फिल्डमै पुगेर छानबिन थालेको छ ।

ज्यान गुमाइसकेका, बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा फर्जी कागजात बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो । अख्तियारको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो ।

आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिका आफैले कारबाहीका लागि १२ पुस २०७७ मा त्यससँग सम्बन्धित कागजातको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीलाई पठाएको थियो । गाउँपालिकाले पठाएको प्रतिवेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताउनुभयो ।

सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ । छानबिनका क्रममा कतिपय मृतक वा बसाई सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया