सार्वजनिक गाडीकाे भाडा आफैँ बढाउने महासङ्घकाे चेतावनी

 फागुन २२, २०७८ आइतबार १८:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिनुभएको हो ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ । आज आइतवार न्युज एजेन्सीसँग कुरा गर्दै महासङ्घका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताउनुभयो । उहाँले महासङ्घको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ । उहाँले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने बताउनुभयो । सिटौलाले सरकारले यातायात व्यवसायीहरूको मागको सुनुवाइसमेत नगरि नतमस्तक भएर बसेको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिएकाे छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरू आफ्नै काममा लाग्नुभएको छ । तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेत्र ध्वस्त भएको छ । ठूलो अुमानित १० अर्ब रुपैयाँ लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र ध्वस्त भएको छ । फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रूपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौँ । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने सरकारले तोकेको वैज्ञानिक भाडा दरअनुसार आफैँले नयाँ भाडा समायोजन गरेर जान्छौँ ।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरूले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनुभयो ।

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्न थालेपछि यातायात व्यवसायीले मूल्य वृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् । सरकारले गएकाे बिहीवार राति मात्रै पेट्रोल र डिजलमा पाँच–पाँच रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रति–लिटर १ सय ५० रुपैयाँ र डिजल प्रति–लिटर १ सय ३३ रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नबिनराज अधिकारी

    March 6, 2022, 6:56 p.m.

    डिजेल को मूल्य वृद्धि प्रतिसत अनुसारको सबै प्रकारको स्वचालित मुल्य निर्धारण गरियोस

  •  0 Reply

तपाईको प्रतिक्रिया