मतपत्रमा हरियो रङ्ग देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? : शर्मा

 फागुन २६, २०७८ बिहिबार १५:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रकाे रङ्गलाई लिएर नतर्सिन आग्रह गर्नुभएकाे छ । आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले यस्ताे आग्रह गर्नुभएकाे छ । 

महामन्त्री शर्माले अध्यक्ष ओलीलाई मतपत्रको रङ्गभन्दा पनि आफ्नो ढङ्ग सच्याउन सुझाव दिँदै भन्नुभयाे, ‘कुन रङ्ग राखिएको छ भनेर रङ्गतर्फ भन्दा पनि आफ्नो ढङ्ग सच्याउनतर्फ लाग्नुपर्छ । रङ्गले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रष्ट छौँ । मतपत्रमा हरियो रङ्ग देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यस कारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।’

यस्तै उहाँले सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन अध्यक्ष ओलीलाई सुझाव दिनुभएको छ । महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङ्गको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गर्नुभयो ।

तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनुभएको हो । अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ्ग राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङ्गबाट नतर्सिन पनि आग्रह गर्नुभयो । 

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ्ग राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङ्गबाट नडराउन आग्रह गर्नुभयो । उहाँले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरूको समीक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड केपी ओलीले पाँच वर्षको शासन चलाउँदै गर्दा तीन वर्षमा कति ठिक ढङ्गले शासन गर्नुभयो ? कति दिएका आश्वासन पूरा गर्नुभयो ? कति सैद्धान्तिक रूपमा सही कर्म गर्नुभयो ? कति स्थिरताका लागि दिएका वचन पूरा गर्नुभयो ? हामीमाथि प्रश्न गरौँ न । सैद्धान्तिक बहस गरौँ, वैचारिक बहस गरौँ । समृद्धिको सबालमा बहस गरौँ ।’

अध्यक्ष ओलीले केही दिनअघि नेपाली कांग्रेसकाे मत चिह्न हरियो रङ्गको रहेको उल्लेख गर्दै सबैले हरियो रङ्ग देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ्ग राख्ने निर्णय गरेको आरोप लगाउनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया