अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
कास्की - निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले नेपाल सरकारलाई आज हस्तान्तरण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई साँचाे हस्तान्तरण गर्न लागेका छन् ।
विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कार्यालयमा साँचाे हस्तान्तरण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयाे । त्यही समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनी सीएएमसीईलाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले कदर पत्र हस्तान्त्ररण गर्ने उहाँले बताउनु भयाे ।
अहिलेसम्म विमानस्थलको अहिले ९३ प्रतिशत काम सकिएको छ । विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङ लगायतका काम रहेको उहाँले जानकारी दिनुभयाे । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाज भित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल इन्जिनियर कृष्ण पौडेलले जानकारी दिनुभयाे । बोडिङ ब्रिज नेपालमै पहिलो पटक पोखरा विमानस्थलमा जडान गरिएको हो । बाँकी रहेका काम पनि द्रुतगतिमा भइरहेको आयोजनाले जनाएको छ ।
गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना सङ्क्रमणका कारण १ वर्षपछि सरेको हो । वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था आईकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि तयारी छ । विमानस्थलको दक्षिणतर्फ रहेको रिठेपानी डाँडा कटान, ल्यान्डफिल साइटको व्यवस्थापन र बर्खाको भेलबाढी तर्काउने संरचना निर्माण भने अझै हुन सकेको छैन ।
चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको यो विमानस्थल यसअघि २०२१ जुलाई १० (२०७८ असार) भित्र सक्ने लक्ष्य राखिएको थियो तर समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ । पोखरा विमानस्थलका लागि तीन हजार ८ सय ९९ रोपनी जग्गा तयार गरिएको छ ।
२०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको थियो । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो ।
यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।