पोखरा महानगरपालिकाको पाँच वर्ष : प्रचार धेरै, काम कम

 चैत १३, २०७८ आइतबार १३:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - २०७४ सालको स्थानीय तहको चुनावमा पोखरामा निकै चर्चामा थियो स्मार्ट सिटी । स्मार्ट सिटीलाई सबै राजनीतिक दलहरुले प्रमुख चुनावी एजेण्डा नै बनाएर चुनावमा होमिएका थिए। तर आफ्नो कार्यकाल सकिनै लाग्दा निर्वाचित जनप्रतिनिधिले स्मार्ट सिटीमा नागरिकले महसुस गर्ने गरी काम गर्न सकेनन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका पूर्वाधारले गति लिने नगरवासीको आशा थियो । तर त्यस्तो हुन नसकेको उनीहरु बताउँछन् ।

‘सडकका खाल्डा २४ घण्टा भित्र पुर्ने, व्यवस्थित पार्किङ, पोखरालाई स्मार्ट सिटी, ढलको व्यवस्थापन, बिजुली तथा टेलिफोन पैसा तिर्न मिल्ने स्मार्ट कार्ड बनाउने सपना देखाएका थिए’ पोखरा महानगरपालिका-१ विन्दवासिनीका मनोज अधिकारीले भन्नुभयो, ‘तर महानगरले आधारभूत सुविधा समेत दिन सकेको छैन ।’ 

२०७४ सालको चुनावमा पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जीसी विजयी हुँदै पोखराको मेयर बन्नुभएको थियो । पोखरा महानगरमा रहेका ३३ वडामध्ये २२ वडामा वडा अध्यक्ष र उपमेयर समेत एमालेले जितेको थियो ।

एमालेको घोषणापत्रमा पोखरालाई 'सुन्दर र सुखी, स्मार्ट सिटी’ को कल्पना थियो। घोषणापत्रमा स्मार्ट सिटी, मेट्रो रेल, मेट्रो बस, व्यवस्थित बस पार्क, व्यवस्थित पार्किङ, सात तालको संरक्षण, स्वच्छ खानेपानी, रोजगारी प्राथमिकतामा थिए । तर ती घोषणामध्ये केहीमा मात्रै कामको सुरुवात भएको छ ।

महानगरपालिकाले नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शङ्कर बास्तोला बताउनुहुन्छ । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका बास्तोलाले एमालेले कांग्रेसलाई प्रतिपक्ष जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।

पोखरा महानगर पालिकाका उपमेयर मञ्जु गुरुङले पहिलो वर्ष कानुन बनाउन बितेको र दोश्रो वर्ष कामको प्रक्रिया अघि बढेको बताउनुभयो । अनलाइनमार्फत नागरिकको काम सहज गरेको उहाँको भनाइ छ । विकटलाई निकट बनाउन महानगरभित्रको ९ सय किलोमिटर सडक स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो ।

सहरलाई ताररहित बनाउने, अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, ट्राफिक बत्ती जडान गर्ने, सबै सरकारी कार्यालयलाई पेपरलेस बनाउने नारा नारामै सीमित भएका छन् । मेयर जीसीले नगर बसमा ई-टिकेटिङ, विद्युतीय पोलमा रहेका अनावश्यक तार काट्ने र सन्ध्याकालीन बस सेवाको उद्घाटन समेत गर्नुभएको थियो। यी विषय पनि सस्तो प्रचारबाजी मात्रै हुन पुगे । 

धेरै योजनाहरु चलिरहेको र काम सकिँदा नागरिकले अनुभव गर्ने गरी काम देखिने जनप्रतिनिधिको दाबी छ । महानगर प्रमुख जीसीलाई २०७८ साउनमा मस्तिष्कघात भएपछि माघदेखि मात्र कार्यालय आउन थाल्नुभएको हाे । उहाँ अहिले पूर्णरूपमा निको भइसक्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया