करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

 चैत २५, २०७८ शुक्रबार १२:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ ।

खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।

श्रम गन्तव्य देश मलेसियाका लागि डिल्लीराज पौडेल, खाडीको मुख्य श्रम गन्तव्य देश साउदीका लागि नवराज सुवेदी र कतारका लागि नरेशविक्रम ढकालका सिफारिस हुनुभएको छ । 

यस्तै, परराष्ट्र सेवाका हरिश्चन्द्र घिमिरे बहराइनका लागि नेपाली राजदूतमा सिफारिस हुनुभएको छ भने डोरनाथ अर्याल ओमानका लागि राजदूतमा सिफारिस हुनुभएको छ  ।

राजदूत सिफारिस भएकाहरूको नियुक्ति प्रक्रिया संसदीय सुनुवाइपछि अघि बढ्छ ।

गएको असोजमा सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसयता कुवेत र यूएई बाहेक खाडी र मलेसियाका मुख्य श्रम गन्तव्य देशमा राजदूत पद खालि रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया