सडक हेरालुलाई यातायात व्यवसायीको सम्मान

 चैत २६, २०७८ शनिबार १३:३९:५८ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङ यातायात प्रालिले सडक हेरालु हर्कराज तामाङ (मटक)लाई सम्मान गरेको छ । दिक्तेल–हलेसी सडक कच्ची भएको समयमा झण्डै एक दशकसम्म हातमा कुटोकोदालो, गैंतीबेल्चा, झम्पल लिएर पिठ्युँमा डोको र नाम्लोको सहायताले ढुंगा बोकेर यातायात सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै यातायात प्रालिले तामाङलाई ३५ हजार ५५५ रुपैयाँ सहित सम्मान–पत्र प्रदान गरेको छ ।

दिक्तेलको किरातचोक (रत्नपार्क)स्थित काउण्टर अगाडि शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसका उपसभापति तिर्थराज भट्टराई, खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई, प्रालिका प्रमुख सल्लाहकार बुद्धिबिनोद लुईटेल लगायतले सडक हेरालु तामाङलाई दोसल्ला ओढाएर नगद तथा सम्मान–पत्र हस्तान्तरण गरेका थिए । हेलीकोप्टरबाट सवारी साधन भित्र्याएर यातायात सञ्चालन सुरु गरिएको जिल्लामा २०६३ सालदेखि २०७४ सालसम्म तामाङले वर्षा याममा सडक मर्मत गर्दै सवारी साधन सञ्चालनमा सहयोग पुर्‍याउनुभएकाे थियाे । 

पुष्पपाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने हलेसी–दिक्तेल सडक कालोपत्रेको काम २०७६ सालमा सम्पन्न भएको हो । सडक कालोपत्रे हुनुभन्दा अगाडि तामाङले एक दशक भन्दा बढी समयसम्म सडक हेरालुका रुपमा काम गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया