वैदेशिक रोजगारीको सामाजिक मोलको विषय उठान गरेको पुस्तक 'घुम्टी'

 चैत २७, २०७८ आइतबार १२:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

जाने बेलामा तिमीले मेरो लागि बाँच्नु भनेर गयौ
म तिमी भनेर बाँचिरहेछु
तिमी मेरो लागि बाँच्न कहिले आउँछौ ?
यहाँ एक मुठ्ठी सास पर्खाइमा कमजोर भइसक्यो ।

वैदेशिक रोजगारीमा गएका श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको मनमा उब्जिएको भावना हो यो । यस्तै भावना, पीडा र संघर्षका कथाहरु समेटिएका छन् लेखक उमा पौडेलको पुस्तक घुम्टीमा । वैदेशिक रोजगारीको सामाजिक मोललाई उठान गर्दै उमा पौडेलले लेख्नुभएको पुस्तक घुम्टीको हिजो विमोचन गरिएको छ । शनिबार काठमाण्डौैमा एक कार्यक्रमका बीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवासन सामी परियोजना टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक विमोचन गर्नुभएको हो । 

सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको लेखक पौडेलले बताउनुभयो । पौडेल सुरक्षित आप्रवासन सामी परियोजनामा आबद्ध हुनुहुन्छ । 

पुरुषहरु सुन्दर भविष्यको सपना साटेर परदेश हिँडेपछि घरमा महिलाले गर्नु पर्ने संघर्ष, भोग्नु पर्ने विभिन्न पारिवारिक र सामाजिक अप्ठेरा लगायतका कुरालाई पुस्तकमार्फत प्रस्तुत गरिएको लेखक पौडेलले बताउनुभयो । 

श्रीमान् कमाउन परदेश हिँडेपछि घरमा रहेका उनीहरुका श्रीमती तथा छोराछोरीको मनोभाव कस्तो हुन्छ भनेर खासै चर्चा गरेको पाइँदैन । तर घुम्टी पुस्तकले यही कुरालाई उघारेको छ ।कार्यक्रममा बोल्दै श्रम सचिव अर्यालले पुस्तकले नेपाल सरकारले वैदेशिक रोजगार नीतिमा समावेश गर्नु पर्ने विविध कुराहरुलाई समेटेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अबका दिनमा श्रम मन्त्रालयले कुनै नीति बनाउँदा यो पुस्तकले उठाएका विषयलाई समावेश गर्छ । वैदेशिक रोजगारीको समस्या विदेशमा मात्र होइन, परिवारमा के बित्छ भन्ने कुरा यो पुस्तकले उठाएकोमा मलाई खुसी लागेको छ, मन्त्रालयले यस पुस्तकमार्फत समाजको चित्र हेर्न पाएको छ ।’ 

यस्तै सचिव अर्यालले पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा सुधारका लागि विभिन्न प्रयास गरेको र आफू स्वयम् पनि यस क्षेत्रका समस्या बुझ्न फिल्डमै गएर जानकारी लिइरहेको समेत बताउनुभयो । 

विदेशबाट फर्किएकाहरुले ल्याएको सीपलाई स्वदेशमै सदुपयोग गर्ने गरी श्रम मन्त्रालयले कार्य विधि बनाइरहेको समेत जानकारी दिनुभयो । सुरक्षित आप्रवासन सामी परियोजनाका टिम लिडर सीता घिमिरेले घुम्टी पुस्तकले वैदेशिक रोजगारीको कारण सृर्जित बर्तमान समाजको यथार्थ चित्र बोकेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘पुस्तकले वैदेशिक रोजगारीमा गएका व्यक्तिका घरका महिला तथा बालबालिकाको प्रतिनिधिमूलक कथा बोलेको छ, परदेशीका परिवारले कल्पनै गर्न नसकिने सामाजिक मूल्य चुकाउन परेको छ, जुन कुरा यो पुस्तकले उजागर गरेको छ ।’

पत्रकार तथा लेखक होम कार्कीले पुस्तकको समीक्षा गर्दै मिडियामा आउने रिपोर्टिङ कामदारको पक्षबाट मात्र आउने गरेकोमा यो पुस्तकले उनीहरुको कथा बोलेको बताउनुभयो ।

‘सामान्यतया वैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ, तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाइएको छ, यो बारे अब मिडियाले पनि बोल्नु पर्ने बेला आएको छ, यसतर्फ मिडियाकर्मीको पनि ध्यान नगएको रहेछ’ उहाँले भन्नुभयो । 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया