सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

 चैत २८, २०७८ सोमबार ६:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ ।

पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन ।

गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तहबाट उम्मेदवार सिफारिस भएर नआएपछि हिजो बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ।

प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा उम्मेदवारको नाम पठाउने म्याद पर्सि ३० गतेसम्म थप गरिएको छ । गठबन्धनका अरु दलले कांग्रेसलाई ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका छन् । माओवादीले २०७४ सालको चुनावमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागबन्डा गर्ने प्रस्ताव गरेको छ।

एकीकृत समाजवादीले २०७४ सालको चुनावमा एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने प्रस्ताव गरेको छ । जसपा र राष्ट्रिय जनमोर्चाले सम्मानजनक रुपमा भागबन्डा गर्नुपर्ने अडान लिएका छन्  । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया