बीस वर्षदेखि ‘आगो’ मा खेल्ने राजकुमार

 बैशाख १०, २०७९ शनिबार ११:३९:४५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

दोलखा, मेलुङका राजकुमार ठकुरीको काठमाण्डौ आएर ‘आगो’ मा खेल्ने कुनै इच्छा, चाहना र योजना होइन । तर, समयक्रमले आगोसँग यस्तो सामिप्यता भयो कि कसैको जीवन, ज्यान जोगाउन उहाँ आफ्नै जिउ ज्यानको बाजी लगाउनु हुन्छ  । 

चैत, वैशाखको यो समय शायदै आइदेओस् जस्तो लाग्छ ठकुरीलाई । तर, विधिको विधान त्यस्तो सम्भव छैन । यसै समयमा कन्ट्राेल रुममा बज्ने हरेक टेलिफोनका घण्टीले उहाँको ढुककुकी बढाउँछ कतै आगलागी पो भयो कि ! गएको २० वर्षदेखि उहाँ आगोसँग खेल्दै हुनुहुन्छ अर्थात अग्नि नियन्त्रकका रुपमा आगलागी नियन्त्रण गर्दै हुनुहुन्छ । 

ललितपुरको जुद्ध वारुणयन्त्रमा आफ्ना सुरुआती दिन सम्झँदै ठकुरी भन्नुहुन्छ, ‘पहिले पहिले घरमा दाउरा बालेर खाना बनाइन्थ्यो । धेरै आगलागी हुँदैनथ्यो । तर, ग्यास बाल्न थालेपछि आगलागीका घटना तथा धनजनको धेरै क्षति हुन थाल्यो ।’ 

करिब एक वर्ष अगाडि ललितपुरको लगनखेलमा ग्यास विस्फोटका कारण भएको एउटा आगलागीको घटनामा घरको माथिल्लो तल्लामा चार जना एकआपसमा अङ्गालोमा बाँधिएको अवस्थामा मृत भेटिए । यो घटनाले उहाँको मन, मुटु हल्लियो । उहाँलाई यो घटनाले निकै दिन सतायो । यस्ता हृदय विदारक घटनाले उहाँलाई केही दिन सताउँछ । तर, पनि कर्तव्यमा भने कुनै कमि आउँदैन ठकुरीको ।

त्यस समयमा पनि उहाँको टोली आगलागी नियन्त्रणका लागि पाँच मिनेटभित्रै घटनास्थलमा पुगिसकेको थियो । कच्चि घर, पुरानो तथा घना बस्ती भएका कारण ठूलो धनजनको क्षति हुने अनुमान गरे पनि त्यस्तो भएन । तर, चार जनालाई भने बचाउन नसकिएकोमा उहाँलाई ठूलो पछुतो छ । 

आगलागीको घटनामा उहाँको पहिलो प्राथमिकता मानवीय उद्धार रहने गर्छ । लगनखेलको त्यस घटनामा पनि उहाँको पहिलो प्रयास मानवीय उद्धार नै थियो । उहाँ माथिल्लो तल्लामा जान भर्याङ चढ्न खोज्दा भाँचिएपछि जान सम्भव भएन । पछि आगलागी नियन्त्रण गरिसकेपछि गएर हेर्दा मात्र मानवीय क्षतिका बारेमा थाहा भयो ।  

उहाँले जागिर खाँदाको समयको एउटा ठूलो आगलागीको घटना उहाँको स्मरणमा अझै छ । औद्योगिक क्षेत्रको प्लाइ कारखानामा भएको त्यो आगलागी निकै भयानका थियो । ‘बस्तीमा पनि आगो पुग्छ कि भन्ने डर थियो तर, समयमै नियन्त्रण गर्न सक्दा त्यसो भएन’ ठकुरी भन्नुहुन्छ । 

वर्षको हाराहारी एक सय ५० आगलागी नियन्त्रणको हिसाब गर्दा उहाँले अहिलेसम्म करिब तीन हजार आगलागी नियन्त्रण गरिसक्नु भयो । जसमा घर/पसलमा हुने आगलागीदेखि ठूला कारखाना तथा डिजेल पेट्रोलका आगलागीका घटनासम्म छन् । 

करिब तीन हजार आगलागी नियन्त्रण गर्दा कहिलेकाहीँ त उहाँलाई ल आज त सकिएँ भन्ने नभएको पनि होइन । २०६५ सालमा इमाडोलको कपास कारखानामा भएको आगलागी नियन्त्रणका क्रममा लडेर उहाँको हात खुट्टा भाँचियो । करिब छ महिना आराम गरेर बस्नुपर्यो । 

आगलागी भएको कारखानाको छतको जस्ता झिक्ने क्रममा त्यो दुर्घटना हुन पुगेको थियो । जस्ता झिक्दा धुवाँ त्यताबाट बाहिर जान्छ र आगो नियन्त्रण गर्न सजिलो हुन्छ भनेर जाँदा उहाँ लड्नु भएको हो । भन्नुहुन्छ, ‘तीन महिना त अस्पताल नै बसेँ । बिस्तारै छ महिनामा काममा फर्केँ ।’

ग्वार्कोमा पेट्रोल खन्याउँदै गरेको ट्याङ्करमा भएको आगलागी उहाँको कमाण्डमा नियन्त्रण भएको निकै जोखिमपूर्ण घटना हो । यदि त्यो ट्याङ्कर विस्फोट भएको भए उहाँको अनुमानमा वरपर घना बस्ती भएका कारण ठूलै धनजनको क्षति हुन्थ्यो । ‘घटना भएको करिब पाँच मिनेटमा घटनास्थल पुगेर उद्धारमा संलग्न भएका कारण ठूलो दुर्घटना टर्यो’ ठकुरी भन्नुहुन्छ, ‘पेट्रोलको घटनामा सबैभन्दा चाँडो नियन्त्रणमा लिएको यो नै पहिलो घटना हो ।’ 

पेट्रोल तथा अन्य प्रज्वलनशील पदार्थमा हुने आगलागी नियन्त्रण गर्न साबुनको फिँज जस्तो केमिकलको प्रयोग हुन्छ जसले बलिरहेको पदार्थलाई छोपेर निभाउने काम गर्छ । 

आगलागी नियन्त्रणका क्रममा उहाँका साथीहरु पनि सामान्य घाइते हुने गरेका छन् । कसैको हात मर्किने, घाउ, चोट लाग्ने गरेको छ । तर, अहिलेसम्म त्यस्तो ठूलो दुर्घटना भने भएको छैन । 

धेरै आगलागीका यस्ता विभत्स घटना देखिसकेपछि उहाँलाई लाग्छ, यस्तो ह्रदय विदारक घटना कसैले भोग्नु नपरोस् । विशेषगरी उहाँको अनुभवमा ग्यासका कारण भएका आगलागीले ठूलो धनजनको क्षति भएको हुँदा ग्यासको प्रयोगमा विशेष सावधानी अपनाउन पनि उहाँको आग्रह छ । 

बीस वर्षको यो लामो अग्नि नियन्त्रकको अनुभवमा उहाँले ४/५ जनाको सकुशल उद्धार गर्नुभएको छ भने मृतकका हिसाबले करिब १५/२० जनाको । अग्नि नियन्त्रणका लागि जाँदा ठकुरी पहिले आगो के मा लाग्यो, के कारणले लाग्यो, के बाट सल्क्यो भन्ने कुरामा पहिलो ध्यान जान्छ । त्यसपछि कति जनाले पाइप खोल्ने, कति जना सुरक्षित तरिकाले आगोमा बढ्ने भन्ने कुरा हुन्छ । यद्यपि सुरक्षित लुगा नहुने त होइन तर पनि विस्फोटका कारण घाइते तथा मानवीय क्षति नै पनि हुनसक्ने हुनाले यस्ता कुरामा चनाखो देखिनुहुन्छ ठकुरी । 

चार/पाँच वर्षअघिसम्म उहाँहरुसँग सुरक्षाका सामग्री थिएन । बेल्जियम सरकारको सहयोगमा ज्याकेट, हेल्मेट, बुट, पञ्जा, अक्सिजन सिलिन्डर आदि प्राप्त भएपछि भने उहाँहरुलाई काम गर्न सजिलो भएको छ । त्यसभन्दा अगाडि कागजको हेल्मेट र लगाउने भनेको खाकीको लुगा हुन्थ्यो । 

अहिले ललितपुरको जुद्ध वारुणयन्त्र कार्यालयमा दुई वटा दमकल रहेकोमा एउटा मर्मत गर्नुपर्ने अवस्थामा छ । केवल एउटा दमकलका भरमा ललितपुरको आगलागी नियन्त्रण गर्न बेला बेला कठिन हुने गरेको पनि राजकुमारको गुनासो छ । भन्नुहुन्छ, ‘एकै समयमा आगलागी भयो भने कता जाने र के गर्ने भन्ने हुन्छ ।’ यसका लागि महानगरका मेयरलाई दमकल थप्न अनुरोध गरे पनि यसमा सुनुवाए नभएकोमा दुःखी हुनुहुन्छ ठकुरी ।

सबैभन्दा पहिले आगलागी भयो भनेर खबर आउने बित्तिकै उहाँ ठाउँ बुझ्नुहुन्छ । अनि घटनास्थलमा उहाँको मनमा अब आगो कसरी नियन्त्रण गर्ने भन्ने रहन्छ । यदि ठूलो आगलागी भने सहायतका लागि काठमाण्डौ तथा भक्तपुरको दमकललाई खबर गर्नतर्फ अन्य साथी लाग्छन् । 

उहाँको श्रीमतीको कामप्रति गुनासो त छैन तर आगोसँग खेल्ने जस्तो जोखिमपूर्ण काममा जाँदा आफू भने सधैँ सुरक्षित तरिकाले काम गर्ने आग्रह भने रहने गर्छ । उहाँ लगायत अग्नि नियन्त्रकहरुको २० जनाको समूह अहिले ललितपुर जुद्ध वारुण यन्त्रमा काम गरिरहेको छ । जसमा चार जना भने चालक हुनुहुन्छ । 

पहिले नौ जनाको टोली हुने गरेकोमा अहिले भने सुरुआती टोली छ जनाको हुन्छ । आगो नियन्त्रण गर्न नसक्दा दोस्रो पटक पनि छ जनाको समूह परिचालन हुन्छ । अहिले आगलागी नियन्त्रणमा जाँदा दमकल, एम्बुलेन्स तथा नगर प्रहरी घटनास्थलमा जाने गरेको छ । आगो नियन्त्रणका लागि तीन हजार लिटर पानी, दुई सय केजी केमिकल, करिब डेढ/दुई सय मिटर पाइप तथा अन्य चिज दमकलमै हुन्छ । 

आगलागीको खबर आएपछि उहाँहरु दुई मिनेटमा निस्कनुहुन्छ । घटनास्थलमा पुगेपछि एकजनाले घटनास्थलका बारेमा खबर गर्ने अनि अफिसले थप मद्दत आवश्यक पर्ने भएका खण्डमा अन्य दमकललाई खबर गर्ने काम हुन्छ । 

साँघुरो गल्ली तथा जथाभाबी लत्रिएका तारले आगलागी नियन्त्रण गर्न धेरै अप्ठ्याराे हुने गरेको छ । साना दमकल यहाँका वारुणयन्त्र कार्यालयमा अहिलेसम्म उपलब्ध छैन । साथै अहिले भएका दश तल्लाभन्दा माथिका घरहरुमा पानी पाल्ने क्षमता भएको गाडी छैन । भएको सानो दमकलमा पानी तथा केमिकल छैन केवल मेशिन मात्र छ अन्य तिरबाट पानी तान्नका लागि । 

उहाँ भन्नुहुन्छ, ‘विपद् जुनसुकै बेला पर्नसक्छ । कसैलाई सूचना दिएर पर्दैन । त्यसकारण घटना हुन नदिन नागरिक नै सचेत हुनुपर्छ ।’ ललितपुर जिल्ला भरिका लागि एउटा मात्र दमकल रहेकोमा उहाँको गुनासो समेत छ । अर्को भएको एउटा बिग्रिएर थन्केको छ । यसलाई बनाएर चलाउन सकिन्छ। 

अहिले विपद् व्यवस्थापनको काम स्थानीय सरकारलाई जिम्मा लगाएका कारण अब आउने स्थानीय सरकारले दमकल किन्नुपर्ने पनि उहाँको सुझाव समेत छ। 

आगलागी हुन नदिनका लागि नागरिकले ग्यास सुरक्षित ढङ्गले चलाउने, रेगुलेटर, पाइप लगायत गुणस्तरीय सामान राख्ने, चुल्होभन्दा ग्यास दुई मिटर पर राखेर मात्र चलाउने, दियो, मैनबत्ती जस्ता चिज बालेपछि निभाउने, केटाकेटीले भेट्ने ठाउँमा सलाइ, लाइटर जस्ता सामान नराख्ने र आगलागी भइहालेमा पनि त्यसलाई तुरुन्तै निभाउन सकिने खालका नियन्त्रक सामग्री पनि सम्भव भएसम्म व्यवस्था गरेमा आगलागी धेरै हदसम्म नियन्त्रण गर्न सकिने ठकुरीको सुझाव छ।   

अन्तिम अपडेट: असार २०, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया