नेपाली कांग्रेसलाई सन्चाे छ कि छैन, साेध्न मन लागेकाे छ : अध्यक्ष ओली

 बैशाख १३, २०७९ मंगलबार १४:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पाेकाे भएको बताउनुभएको छ । 

आज मङ्गलवार सानेपाकाे मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोपसमेत लगाउनुभयो । 

अध्यक्ष ओलीले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले कांग्रेसकाे घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसले घोषणापत्रमा भित्र गाली पुराण छ । एमालेलाई गाली, धारे हात लगाएर सरापेको छ । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे, हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे भनेर घोषणापत्रमा लेखेको छ । के भएको हाे नेपाली कांग्रेसलाई ? एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो, पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एक पटक घोषणा गर्नभन्दा अघि सोध्न मन लागेको छ । घोषणापत्रमा संविधानका राम्रा कुराहरू निकालेर राखेको छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरूले आफू बित्दा कांग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले कांग्रेससँग ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेन्डा नभएको आरोप लगाउनुभयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको र त्याे लाैराे पालिका चुनावबाट सकिने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गर्नुभयो । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरू भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले घाेषणापत्र ननिकालेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनुभयो । उहाँले हतारमा एकीकृत समाजवादीले निकालेकाे घोषणापत्रमा केही तुक नरहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले वैशाख ३० गते हुने पालिका चुनावमा उत्तेजक नबनिकन अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया