म्याग्दीमा २ सय ३७ पदमा ७ सय ५९ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार ७:५२:२ | रासस
unn.prixa.net

म्याग्दी –  वैशाख ३० गते हुन लागेको पालिका चुनाव अन्तर्गत म्याग्दीमा दुई सय ३७ पदका लागि सात सय ५९ जनाले मनोनयन दर्ता गराएका छन् । 

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

“प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा एक सय ६०, खुला सदस्यमा दुई सय ८०, महिला सदस्यमा एक सय २९ र दलित महिला सदस्यमा एक सय ३० जनाको उम्मेदवारी परेको छ" उहाँले भन्नुभयाे, "दाबी–विरोध, छानविन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।”

बेनी नगरपालिकाको ५२ पदमा एक सय ७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा एक सय ४७, मङ्गलाको २७ पदमा एक सय पाँच, रघुगङ्गाको ४२ पदमा एक सय ४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ । म्याग्दीका ६ स्थानीय तहमा ४५ वडा र ८५ हजार ३७५ मतदाता छन् । कूल मतदातामध्ये ४१ हजार चार सय १४ पुरुष, ४३ हजार नाै सय ६० महिला र एक तेस्रोलिङ्गी छन् । यस्तै ७४ मतदानस्थल र एक सय १४ मतदान केन्द्र छन् ।

धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा (माओवादी केन्द्र)का सीताकुमारी छन्त्याल निर्विरोध हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । यस्तै बेनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर बेनपा–६ को वडा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।

माओवादी केन्द्रबाट मङ्गला गाउँपालिका–१ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा ज्येष्ठ र नेशनल मङ्गोल अर्गनाइजेशनबाट मङ्गला गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार २४ वर्षीय भूमि घर्तीमगर सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया