युक्रेनमा भइरहेको आक्रमण रोक्न सुरक्षा परिषद् असफल भयाे : एन्टाेनियो गुटेरेस

 वैशाख १६, २०७९ शुक्रबार ७:१८:४२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गर्नुभएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेका मुख्य सहरको भ्रमण र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् युद्ध रोक्न असफल भएको भन्दै आलोचना गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले युक्रेन अहिले ठूलो निराशा र क्रोधको केन्द्र बनिरहेको पनि बताउनुभयो ।

१५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिए पनि युक्रेन युद्धमा सुरक्षा परिषद्ले केही गर्न नसकेको गुटेरेसले बताउनुभएको छ । तर शान्ति कायम गर्ने यात्रामा कहिल्यै हार मान्न नहुने भन्दै उहाँले सुरक्षा परिषद्ले सक्दो काम नगरे पनि राष्ट्र सङ्घका अरु निकायले भने मानवीयताका थुप्रै काम गरिएको बताउनुभयो ।

एक हजार चार सय कर्मचारीले युक्रेनमा गास, बाससहितका अन्य सुविधाको लागि काम गरिरहेको गुटेरेसले बताउनुभयो ।

पत्रकार सम्मेलन चलिरहेकै बेला राजधानी किएभमा दुई वटा ठूला विस्फाेट हुँदा हल हल्लिएको थियो । महासचिव गुटेरेस रुस भ्रमणपछि युक्रेनमा जानुभएको हो । रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाभन्दा धेरै समय भइसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया