सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि काठमाण्डाैकाे फोहर व्यवस्थापन

 वैशाख २४, २०७९ शनिबार १५:२८:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौ –  पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाण्डाै महानगरपालिकाको पहलमा तीन सय जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाण्डाैको १८ स्थानीय तहको फोहर सडकमा नै थियो । 

पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उहाँका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भन्नुभयो, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” दुई वर्षको लागि भन्दै विगत १५ वर्षदेखि फोहर सिसडोलमा फोहर व्यवस्थापन भइरहेकाले उक्त स्थान पनि पूर्णरुपमा भरिएको छ । “तत्काल त्यसको पनि विकल्प खोज्नुपर्छ”, राईले भन्नुभयो ।  

हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुईसय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुईसय गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।  

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । 

यस्तै  नेपाली सेनाले सगरमाथासहित चार वटा हिमालबाट १३ हजार सात सय ८१ किलो फोहर सङ्कलन गरेको छ । 

 


अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया