उपमहानगरपालिकाको वडामा तार छ, बिजुली छैन, मोबाइल चार्ज गर्न एक घण्टा पैदल

 बैशाख २५, २०७९ आइतबार १५:१:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – चुनावमा मतदाता फकाउन दलहरूले के मात्रै गर्दैैनन् । दलका कुरा र घोषणापत्र हेर्दा चुनावको मुखमा नहुने भन्ने केही हुँदैन भन्ने लाग्छ ।

भोट माग्न जाँदा दलहरूले मतदातालाई यति धेरै आश्वासन बाँड्छन कि चुनाव सकिएपछि के आश्वासन दिएको हो उनीहरूलाई नै थाहा हुँदैन । अर्को कुरा कतिपय ठाउँमा त चुनाव सकिएर अर्को चुनाव नआउँदासम्म नेताले गाउँ नै देख्दैनन्/टेक्दैनन् । 

मतदान सकिएपछि आफूहरूले दिएको आश्वासन पूरा गर्न त परै जाओस् नेताहरू फर्केर त्यही गाउँमा पुग्न फेरि अर्को चुनाव आउनुपर्ने परिस्थिति दाङका धेरै विकट बस्तीको छ । चुनाव नजिकिएसँगै सदरमुकाम नजिकै रहेको तर विकट घोराही उपमहानगरपालिका वडा नं १ का गाउँमा फेरि भोट माग्दै उम्मेदवार पुग्न थालेका छन् । भोट हाल्ने दिन नजिकिँदै गर्दा अघिल्लो चुनावका बेला बाँडिएका आश्वासन भने पूरा गर्ने सुरसारमा अझै छैनन् नेता तथा दलहरू । 

घोराही उपमहानगरपालिका वडा नं १ बस्तिकोटका खुमान राना हरेक चुनावमा नेताहरूले आश्वासन बाँड्ने तर पूरा गर्नेतर्फ नलागेको गुनासो गर्नुहुन्छ । घोराही उपमहानगरपालिकाको वडा नं १ करमकोट, बस्तिकोट, हेक्राम, ठाटीकोट, लुडकुस, तेर्छे, ठाटीखोला, मान्द्रे, रुपाचौर लगायतका बस्तीले धेरै चुनाव देखे । २०४८ सालयताका धेरै चुनावमा स्थानीयवासीले भाग पनि लिए । भोट माग्न आउने उम्मेदवारले गाउँमा बिजुली, सडक, पानी, शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पुर्‍याउने आश्वासन पनि बाँडे तर जितेर गएपछि उनीहरूले आफूले गरेका प्रतिबद्धता भुले । 

वर्षाैँदेखि विकट यी बस्तीमा सबैले बाँडेको साझा आश्वासन भनेको बिजुली बत्ती पुर्‍याउँछु भन्ने नै हो । दुई वर्षअघि बिजुलीका पोल पनि गाडिए र तार पनि तानियो । बिजुली बत्ती गाउँमा पुर्‍याउने रहरले धेरै स्थानीयवासीले निकै परिश्रम पनि गरेको करमकोटका जगवीर थापाले बताउनुभयो । ‘दशैँ, तिहारमा बत्ती बाल्ने भनेर हामीले धेरै दुःख गरिम्, निकैले दुःख गरे’, थापाले भन्नुभयो, ‘दुःख गर्न मात्रै भयो, दुई वर्ष भयो पोलतिर हेरेरै बसेका छन् ।’

वडा नं १ को झन्डै दर्जन गाउँमा ८० परिवारको बसोबास छ । केही स्थानीयवासीले आफ्नै लगानीमा सोलार बत्ती जोडेका छन् । त्यही सोलार बत्तीको सहयोगमा साना मोबाइल चार्ज पनि गर्छन् । पछिल्लो समय धेरैका घरमा स्मार्ट मोबाइल पनि छन् । ठूला आकारका स्मार्ट मोबाइल सोलार सिस्टमबाट चार्ज हुँदैन् । मोबाइल चार्ज गर्न पनि एक घण्टा हिँडेर बिजुली बत्ती पुगेको ठाउँमा जानुपर्ने बाध्यता छ । 

गाउँमा अब बिजुली आउँछ भनेर पोल हेरेरै स्थानीयवासीका दुई वर्ष बिते । बिजुली आउनासाथ बाल्ने भनेर केहीले घरमा वायरिङ पनि गरेको करमकोटका निमबहादुर थापाले बताउनुभयो । ‘बिजुली बाल्ने भनेर एघार घरले त वायरिङ पनि गरेका छौँ’, थापाले भन्नुभयो, ‘तर बिजुली कहिले बल्छ अत्तोपत्तो छैन ।’

दाङ—प्यूठान सडक खण्डको दक्षिणतिर र वीपी मार्गको उत्तरतर्फ पर्ने यहाँका बस्तीमा धेरैजसाे मगर समुदायको बसोबास छ । २०५२ सालमा एक गैरसरकारी संस्थाले दुई किलोमिटर टाढा काउलेको मुहानबाट गाउँमा खानेपानीको धारा लगिदिएको थियो । अहिले बस्ती बढ्यो, बिहानमा मात्रै धारामा केहीबेर पानी आउँछ र मुस्किलले खानका लागि पुग्छ ।

धारामा पानी नआउँदा र अन्य कामका लागि एक घण्टा बस्ती तलको खोलामा पानीको जोहो गर्न पुग्नुपर्ने बाध्यता छ । आफ्ना समस्या सुनाउँदै करमकोटका जगवीर थापाले भन्नुभयो, ‘मौसमले साथ दिए आफूले उब्जाएको अन्नले ६ महिना मात्रै खान पुग्छ । गाउँमा रोजगारीको अवस्था छैन । धेरै युवा कमाउन भारतलगायतका देश गएका छन् ।’

काउले छेडा हुँदै यो वर्ष सडकको ट्र्याक गाउँमा पुगेको छ । नयाँ खनिएको ठाडै उकालो र ओरालो भएको त्यस सडकमा सार्वजनिक गाडी पुग्न सक्दैनन् । गाउँमा कोही बिरामी भएमा झोलुङ्गोमा बोकेर डेढ घण्टा पैदल हिँडेर मोटरबाटोसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको निमबहादुर थापाले बताउनुभयो । 

साविकको रामपुर गाविसको वडा नं ८ र ९ मा रहेका यी बस्ती समायोजनपछि घोराही उपमहानगरपालिका वडा नं १ मा परेका छन् । गाविसबाट उपमहानगरपालिका भए पनि आफूहरूले पाँच/दश रुपैयाँ बुझाउँदै आएको कर अहिले पाँच/छ सय पुगेको तर आफूहरूले पाउने सुविधा भने उस्तै रहेको खुमान रानाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०७९

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया