दार्चुला : हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

 जेठ १३, २०७९ शुक्रबार २०:६:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्यास गाउँपालिका ६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका ६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । 

महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ ।  मालिकार्जुन ६ का तेजबहादुर चन्दले भन्नुभयो, 'बल्ल अहिले आएर पुल निर्माण भयो ।' स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार वटा झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले हिजाे मालिकार्जुन ६ बाँकुमा पुलको शुभारम्भ गर्नुभयो भने व्यास ६ बडुगाउँमा रहेकाे झोलुङ्गे पुलको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गर्नुभएको हो ।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका छन् । व्यास ६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउनुहुन्छ । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका उहाँ हिजाेदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिनुभयो ।

उहाँले भन्नुभयो, 'कैयौँ बर्खा यो महाकाली नदीमा स्थानीयवासी अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।' व्यास ६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन ६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउनुहुन्छ । 'अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ । बाँकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ', उहाँले भन्नुभयो ।

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए । दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उहाँले बताउनुभयो ।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, 'अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन । दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ ।'

व्यास ४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो हप्ता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्यास गाउँपालिका २ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ । 

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाण्डौले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कुल २ करोड ७३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । यस्तै बाँकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो । पुल निर्माण गर्न कुल २ करोड ५५ लाख ६४ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष  धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो । महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि व्यास ६ को तिगरम र लेकम गाउँपालिका ३ को लाली, मालिकार्जुन ७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् । 

यस अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, 'अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्ने छैन ।'

भारत पिथौरागढका डीएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, 'नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो। सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ ।' पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया