गणतन्त्रको भोगाइ : कतै केही सजिलो, कतै उस्तै, बढ्दो महँगी !

 जेठ १५, २०७९ आइतबार ११:४५:१८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

मकवानपुरका दिपक पुडासैनी अरु बेला घरकै काममा रमाए पनि काम नभएका बेला केही काम पाइन्छ कि भनेर काठमाण्डौ छिर्नुहुन्छ । कामका लागि काठमाण्डौमा छिरे पनि काम कहाँ सजिलै पाइन्छ र भनेजस्तो । भन्नुहुन्छ, ‘गणतन्त्र आओस् कि जे आओस् वा जुनसुकै पार्टी आए पनि निम्न वर्गका जनताले केही पनि महसुस गर्न पाएका छैनन् ।’

गरिब झन् झन् गरिब र धनी झन् झन् धनी बन्दै गएकोमा उहाँको गुनासो छ । देश सात प्रदेशमा बाँडिए पनि अन्य प्रदेशमा केही नहुने र रोजगारी तथा अन्य सेवा, सुविधाका लागि पनि काठमाण्डौ धाउनु परेकामा उहाँ रोष प्रकट गर्दै भन्नुहुन्छ, ‘काठमाण्डौलाई मात्र मुख्य नबनाइयोस् । सबै प्रदेशमा काम तथा सेवा सुविधा पुर्याइयोस् ।’

उहाँको असन्तुष्टि यतिमा मात्र सीमित छैन । ठूला कलेज, अस्पताल, कल कारखाना सबै प्रदेशमा पुगोस् र त्यस प्रदेशका मान्छेले काम तथा अन्य कुराका लागि अरु प्रदेशमा जानु नपरोस् भन्ने उहाँको चाहना छ । 

महँगी बढेर जीवन निर्वाह गर्न कठिन रहेको साथै सरकारी सेवा सुविधाका लागि पनि जुनसुकै ठाउँमा गए पनि पैसा खुवाउनुपर्ने भन्दै पुडासैनी भन्नुहुन्छ, ‘चाहे अदालत जाउँ चाहे मालपोत जाउँ जुनसुकै कार्यालय जाउँ उनीहरुले पैसा लिने मेसो गरेकै हुन्छ । सोझासाझा जनताले सर्वसुलभ तरिकाले केही पनि पाएको छैन ।’

आल्मुनियम झ्यालढोका बनाएर काम नलाग्ने साना टुक्राको कबाडी बेचविखन गर्ने दोलखाका मिलन दाहाल व्यवसायी हुनुहुन्छ । सरकारले धुमधामका साथ गणतन्त्र दिवस मनाइरहँदा उहाँ भने देशमा अहिलेसम्म गणतन्त्र नै नआएको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘यो देशमा गणतन्त्र आएकै छैन । गणतन्त्र ठूला नेतालाई मात्र आएको हो अरुलाई आएको छैन ।’

देशमा गणतन्त्र नभएर लुटतन्त्र आएको दाहालको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘जनताको जनजीविका समस्या हल गर्नेलाई गणतन्त्र भनिन्छ त्यस अर्थमा पनि यहाँ गणतन्त्र आएकै छैन ।’

काभ्रे पाँचखालका सन्देश पन्त बेकरी पसलमा काम गर्नुहुन्छ । उहाँलाई पनि देशमा गणतन्त्र आएको जस्तो लागेको छैन । नागरिकले पाउनुपर्ने हरेक सेवा, सुविधा नपाएका कारण उहाँको यो आक्रोश हो । भन्नुहुन्छ, ‘जनताको रोजगारी, स्वास्थ्य सेवा सुविधा जनताले केही पनि पाएका छैनन् ।’

उदयपुरका राजकुमार खड्का प्लम्बिङको काम गर्नुहुन्छ । गणतन्त्र आएका कारण जुनसुकै ठाउँमा गएर पनि बोल्न सकिने बनाएको उहाँको विचार छ । भन्नुहुन्छ, ‘गणतन्त्र नआएको भए यसरी सबै सङ्घ संस्था तथा अन्य ठाउँमा गएर बोल्न सकिँदैनथ्यो । मजदुरले आफ्नो ज्याला यति हो भन्ने क्षमता गणतन्त्र आएका कारण भएको हो।’

गणतन्त्र आएका कारण मजदुरको ज्यालामा वृद्धि भएको पनि उहाँको बुझाइ छ । गणतन्त्र आएको कारण नै मजदुरको ज्याला ४ सय रुपैयाँबाट बढेर अहिले १२ सय रुपैयाँ पुगेको उहाँले बताउनुभयो। गणतन्त्रकै लागि भनेर लडेको बताउने उदयपुरका प्रकाश मगरको वितृष्णा बेग्लै छ । पहिले गलैँचा मजदुरी गर्ने उहाँ मजदुरको हक हितका लागि आवाज उठाउँदा कामबाट निकालिदिएको बताउनुहुन्छ।

‘गणतन्त्रका लागि भनेर आन्दोलनमा समेत गइयो । धेरै गरियो तर केही भएन’ भन्नुहुन्छ, ‘आफ्नो साथी बिरामी परेर आवाज उठाउँदा अन्य साथीले साथ नदिएर कामबाट निकालिनुपर्यो । हाम्रो आवाजको सुनुवाइ भएन ।’

विराटनगरकी शकुन्तला दर्जीलाई भने गणतन्त्र आएपछि केही सजिलो भएको भन्ने लागेको छ । पहिले कुटो कोदालो गरेर खानुपर्नेमा अहिले अरु काम गरेर खान पाइएकोमा उहाँ खुशी देखिनुहुन्छ । भन्नुहुन्छ, ‘अहिले वडा कार्यालयबाट सजिलै काम हुन्छ । पहिले काम गर्न गाह्रो थियो ।’

पहिले आफ्नो बारीमा उत्पादन भएको कुरा पनि बिक्री नहुनेमा अहिले भने सजिलै बिक्री हुने कारणले पनि सजिलो भएको तथा छोराछोरीले काम गर्न पाएका कारण झन् सजिलो भएको उहाँको बुझाइ छ । 

गीता परियार ललितपुरको जावलाखेलमा सिलाइ व्यवसाय गर्नुहुन्छ । उहाँले यहाँ बसेर लुगा सिलाउन थाल्नु भएको पनि नौ वर्ष भयो । भन्नुहुन्छ, ‘जे-जे भए पनि हामी जस्तो दुःखी गरिबका लागि झन् झन् गाह्रो भएको छ । बिहान कमाएर बेलुका खानेलाई महँगी बढेर बाँच्न मुश्किल भएको छ।’

अहिले उहाँ जस्तो साधारण मान्छेले न्याय पाउन गाह्रो भएको तथा पैसा हुनेको मात्र न्याय भएको पनि उहाँको दुःखेसो छ । ‘रातारात ग्यासको दुई सय बढ्यो । घरबेटीलाई बेलामा पैसा नदिए निक्ली जा भन्छ । हामीलाई जे आए पनि केही भाको छैन’ उहाँले गुनासो पोख्नुभयो ।

जुनसुकै पार्टी र व्यवस्था आए पनि गरिबहरुका लागि केही नहुने रहेछ भन्ने लाग्छ उहाँलाई । ‘सामान्य उपचारका लागि अस्पताल जाँदा पनि कम्तीमा १० हजार रुपैयाँ बोकेर जानुपर्छ । बालबच्चा पढाउन त्यत्तिकै गाह्रो छ । जुन-जुन पार्टी आए पनि त्यस्तै हो’ उहाँले भन्नुभयो ।

ज्याला मजदुरी गर्दै आउनु भएकी काभ्रेकी विना लामालाई गणतन्त्रबारे खासै जानकारी छैन । भन्नुहन्छ, ‘नेपालमा जे-जे भए पनि गरिबलाई कसैले नहेर्ने रहेछन्’। 

उहाँको दुखेसो पनि विगतदेखि अहिलेसम्म सरकार चलाउनेसँग छ । अनि महँगी भएर जीवन चलाउनै नसक्ने भएकोमा सरकारले केही हेरेन गरेन भन्ने उहाँको गुनासो छ । ‘महँगी बढेर यस्तो भएको छ खोइ त कसैले हेरेको हामी गरिब दुःखीलाई हेरेको । जे आए पनि केही हुँँदैन’ भन्नुहुन्छ लामा। 

अन्तिम अपडेट: जेठ १८, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया