गाडी नचढ्ने, पुरानो शहरको ‘फोटोवाला’ केटो !

 जेठ २१, २०७९ शनिबार १५:८:३७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

३७ वर्षीय जगदीश भण्डारी बाइक हुइँक्याउनु पर्ने बेलाका हुनुहुन्छ । तर, अचम्म के भने काठमाण्डौको कालधारामा जन्मनुभएका उहाँ न त बाइक चढ्नुहुन्छ न त सार्वजनिक गाडी नै । प्रश्न उठ्छ– उसो भए निर्वाह कसरी चल्छ ? त्यसको उहाँको आफ्नै शैली र उत्तर छ, ‘हिँडेरै ।’

खान, बोल्न र सास फेर्ने समय पनि नभए झैँ गरी भागदौड गरिरहेको काठमाण्डौमा झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो सत्यको पालना पनि सम्भव छ र भन्ने लाग्नेलाई काठमाण्डौको आदर्श योगहरि स्कुल पढेका भण्डारीको उत्तर छ, ‘आफूसँग जे स्रोत साधन छ, त्यसअनुसार आफूले आफूलाई बनाउँदै लैजाने हो । जन्मिँदै कसैको घरमा गाडी छ भने उसलाई हिँड्ने बानी त लाग्दै लाग्दैन कहिले पनि । उसको दिमागमा गाडी चढ्नुपर्छ भन्ने मान्यता बसिसकेको हुन्छ ।’

उहाँको घर र स्कुल दश मिनेटमा पैदल दुरीमा थियो । त्यस कारण गाडी चढ्नुपर्छ भन्ने बाध्यता रहेन । ‘किनमेल गर्न पनि असन, इन्द्रचोक जाने हुनाले गाडी चढ्नु परेन । त्यसैले हिँड्नै पर्छ भन्ने मान्यता रह्यो’, भण्डारी भन्नुहुन्छ । 

अर्को कारण भनेको उहाँको बुबाको साइकल थियो । साइकल पनि सँधै चढ्न पाइँदैनथ्यो । यसो खुट्टामा घाउ भएका बेला बुबाले एक/दुई पटक लगिदिएको थाहा छ उहाँलाई । नभए पैदलै । 

उहाँले दश जोड दुई पिपल्स क्यम्पसमा, त्यसपछि स्नातक र स्नातकोत्तर तह सरस्वती क्याम्पसमा अध्ययन गर्नुभएको हो । ती सबै दश/पन्ध्र मिनेटको दुरीमा थिए । उहाँको हिँडन्ते स्वभाव विकास गर्न यी सबै कारण रहे । 

हुन त उहाँको कलेजमा बाइक घुँइक्याउने साथी नभएका होइनन् तर हिँड्ने भएपछि यस्ता सबैसँग कित्ताकाट भयो । उहाँ हिँड्नेको समूहमा पर्नुभयो । अरू साथीले पनि योसँग जाँदा त हिँड्नै पर्छ भनेर उहाँलाई पनि कित्ताकाट गरिदिए । 

चक्रपथभित्र हिँड्न खासै समस्या नरहे पनि बाहिर जान पर्‍याे भने उहाँ गाडी चढ्नुहुन्छ । ‘काठमाण्डौभित्र गल्लीका छोटा बाटाहरू धेरै छन् । बाटो चाहिँ चिन्नुपर्छ’, भण्डारी भन्नुहुन्छ, ‘काठमाण्डौ भनेको सयौँ वर्षदेखि हिँडेरै विकास भएको शहर हो । त्यसमा पनि यहाँको मौसम हिँड्नका लागि अनुकूल छ ।’ 

इतिहासको खोज र इतिहासमा जोडिँदै जाँदा शताब्दी पुरुष सत्यमोहन जोशी पाटनदेखि हिँडेर काठमाण्डौ पढ्न/काम गर्न आउनुहुन्थ्यो भने हामी किन सक्दैनौँ भन्ने पनि लाग्यो उहाँलाई । त्यस बेला हिँडेरै जिन्दगी चल्थ्यो भने अहिले किन नचल्नु भन्ने कुराले उहाँको मनमा गहिरो प्रभाव परेका कारण पनि उहाँले पैदल रोज्नुभएको हो । 

अर्को भनेको फोटोग्राफी (तस्बिर खिच्ने) का लागि हिँडेर जाँदा गन्तव्य एउटा भए पनि त्यस बीचमा अरू धेरै ठाउँको फोटो खिच्न सकिने भयो । तर, गाडीमा जाँदा त्यो सम्भव थिएन ।

हिँड्ने भएपछि कुनै काम भ्याउनका लागि यति समयमा पुगिन्छ भन्ने एउटा आधार हुन्छ । तर, गाडीमा जाने गर्दा मान्छे अल्छी हुन्छ । गाडीमा दश मिनेटमा पुगी हालिन्छ भनेर आधा घण्टा गाडी कुर्ने चलन हुन्छ मान्छेको । त्यस कारण मानिसले ढिलो हुन्छ भन्ने गरेको उहाँको धारणा छ । 

‘हिँड्दा ढिलो हुने कारण नै छैन । हिँड्दा एक घण्टा लाग्छ भनेपछि एक घण्टा नै लाग्छ । अलि छिटो गर्‍याे भने चाँडै होला’, भण्डारी भन्नुहुन्छ, ‘गाडीमा जाँदा जाम हुने, बिग्रने, कुर्नुपर्ने लगायतका कारणले ढिलो हुने गर्छ बरु ।’

पिकनिक, पार्टी, बिहे, व्रतबन्ध जस्ता समारोह पनि जानकारी भएको नजिक र हिँड्दा सहजै पुगिने ठाउँ छ भने उहाँ हिँड्नुहुन्छ । ‘अन्यथा भएमा मात्र गाडी चढ्ने हो’, भण्डारी भन्नुहुन्छ । 

उहाँ कहिलेकाहीँ टुटल, पठाओ जस्ता ‘राइड शेयरिङ’ माध्यमको भने प्रयोग गर्नुहुन्छ । किनकि यी भनेको कुर्नु नपर्ने अनि भनेकै ठाउँमा आउने र पुर्‍याइदिने माध्यम भएकाले उहाँ आवश्यक परेका बेला यस्ता माध्यमको प्रयोग गर्नुहुन्छ । 

‘घाम, पानीले भने हिँड्नमा बाधा ल्याउँछ । घाम चर्किँदा पसिना आएर पसिनाले भिजेर जानु पनि भएन भने पानी पर्दा त लुगा सबै भिज्छ, यसरी पनि भएन’, उहाँ सुनाउनुहुन्छ ।  

उहाँ कार्यक्रममा प्रायः समय अगाडि नै पुग्नुहुन्छ । अनि कसरी छिटो बाइकमा आएको हो भन्ने धेरैले भन्ने गर्छन् । ‘हिँडेर आएको भन्दा धेरैले विश्वास नै गर्दैनन्’, भण्डारी भन्नुहुन्छ ।  

उहाँलाई साथीभाइले अब त बाइक किन्नुपर्छ कत्ति हिँडेको भनेर भन्ने नगरेको पनि होइन । तर, नेपालमा बाइक बनेपछि किन्छु भन्ने जवाफ रहन्छ उहाँको त्यस बेला । नेपालमा विद्युतीय बाइक 'यात्री' बनेपछि उहाँलाई अब किन्ने हाेइन भनेर साथीभाइले जिस्क्याए पनि । तर, त्यसको सम्पूर्ण पार्टपूर्जा नेपालमा नबनेकोले सबै बनेपछि किनौँला भनेर उहाँले टार्नुभयो ।

एक समय उहाँलाई पनि विद्युतीय बाइक किनौँ झैँ नलागेको पनि होइन । तर, सवारी कर, तथा लाइसेन्सको झन्झट भएपछि उहाँको यो जाँगर पनि मरेको छ हिजोआज । 

‘हिँड्दा चलचित्र नै हेर्नुपर्दैन ! चलचित्रमा देखिने जति प्रायः दृष्य त बाटोमै देखिन्छ’, उहाँ भन्नुहुन्छ, ‘कतै मायाप्रिति गाँसेको देखिन्छ भने कतै झगडा परेको, कतै सामान किन्दा मोलमोलाइ हुँदै गरेको अनि नयाँ फेशनदेखि अन्य कुरा पनि देखिन्छ ।’

उहाँ हिँड्दा एअरफोन लगाएर हिँड्नुहुन्न । बाहिरको दृश्य नियाल्दै हिँड्ने गर्नुहुन्छ । ‘एकोहोरो भएर हिँड्दा त ठेस लाग्ने पनि खतरा हुन्छ नि !’, उहाँ सचेत देखिनुहुन्छ । 

आजसम्म हिँड्दा हिँड्दै जुत्ता उध्रिएको अनि च्यातिको अनुभव भने छैन उहाँको । हिँड्नुअघि आज कति हिँडिन्छ भनेर अनुमान गरेर त्यसैअनुसारको जुत्ता लगाउने कारणले यो समस्या टरेको उहाँको अनुभव छ । 

उहाँले बजारमा किन्ने भनेको धेरै जुत्ता नै हो । ‘बजारमा हिँड्दा यसो जुत्ता हेरेर मन खायो भने किनिहाल्ने हो’, हिजो मात्रै अठार सयमा किनेको चप्पल देखाउँदै उहाँ भन्नुहुन्छ, ‘नचाहिए पनि आँखा गयो भने चार/पाँच जोर पनि किन्दिन्छु एकै दिन ।’

पुरानो फोटो सङ्कलन र फोटोग्राफी

साथीको फिल्म निर्माणसम्बन्धी अफिसमा काम गर्दा अग्रज चलचित्रकर्मीको कुराकानी सुन्दा माइतीघरको नाम माइतीघर फिल्मबाट रहेको जानकारी पाएपछि अरू ठाउँको पनि यस्तै त होला भन्ने जिज्ञासाबाट सुरु भएको हो भण्डारीको पुरानो फोटो सङ्कलन र फोटोग्राफी । 

उहाँकाे यस्तो रूचि थाहा पाएपछि गुरुकुल नाटकघरबाट समेत इतिहासका पुस्तकहरू पनि ल्याइदिन थाले साथीभाइले । यसबाट इतिहासमा झन् उहाँकाे रूचि हुन थाल्यो । एकदिन काकाको छोरासँग टुँडिखेल घुम्दै गर्दा भण्डारीले टुँडिखेल त यहाँबाट यहाँसम्म थियो नि पहिले भनेर भन्नुभयो । त्यसपछि भाइले मसँग पहिलेको फोटो छ नि भनेपछि सुरु भयो उहाँको पुराना तथा इतिहासका फोटो सङ्कलन यात्रा । त्यसअघि उहाँले नेपालको यस्ता पुरानो फोटो देख्नुभएकै थिएन । 

उहाँको भाइ इन्जिनियर हुनुहुन्छ । अनि भाइले कम्प्युटरको डेस्कटपमा पुराना फोटोहरू राख्नका लागि यस्ता फोटोहरू सङ्कलन गर्नुभएको रहेछ । 

इतिहासका पुस्तकमा फोटोहरू हुँदैनथ्यो, त्यसैले पनि उहाँलाई यस्ता फोटो हुन्छन् भन्ने लागेकै थिएन । यस्ता फोटोहरू देखेपछि उहाँलाई सङ्कलनको भूत सवार भयो । तर, अब यस्ता फोटोहरू कहाँ भेटिएलान् भन्ने कौतुहलताले भण्डारीलाई सताउन थाल्यो । 

पहिले फोटो धेरै नहुँदा फोटो धेरै छन् भन्ने देखाउन उहाँले एउटै फोटोलाई 'क्रप' गरेर दुई वटा बनाएर पनि राख्नुभयो । पछि साथीमार्फत त्यस्ता फोटो गुगलमा भेटिन्छ भन्ने थाहा पाएपछि उहाँको वास कम्प्युटरमै हुन थाल्यो । 

तर, अब सँधै फोटो भेटिने कुरो भएन । उहाँले त्यसपछि आफूसँग भएका फोटोहरू फेसबुकमा हाल्न थाल्नुभयो । त्यस बेलासम्म पुरानो फोटो हाल्ने चलन थिएन । त्यसलाई धेरैले मन पराए । अब पुरानो फोटोको लागि नजानिँदो गरेर उहाँको नाम आउन थाल्यो । 

अब अरू फोटोको लागि के गर्ने भन्ने समस्याको यसले समाधान दियो । पुराना फोटोग्राफर र राणाकालीन परिवारसँग सम्पर्क भएपछि उनीहरूको पारिवारिक र ऐतिहासिक फोटोहरू पनि सङ्कलन हुन थाल्यो । 

उहाँले यसरी हजारौँ फोटो सङ्कलन गर्नुभयो । तर, विडम्बना उहाँले सुरक्षित गरेर राखेको हार्ड ड्राइभ बनाउन नमिल्ने गरी बिग्रियो । यसले उहाँका झन्डै तीस/पैँतीस हजार फोटो नष्ट भए । तर, छापामा बाँकी रहेका फोटोहरू भने सुरक्षित नै रहे । यसले उहाँलाई डिजिटलमा मात्र भर पर्नु नहुने रहेछ भन्ने पाठ पनि सिकायो । 

पहिले पहिले उहाँले फेसबुकमा फोटो मात्र हाल्नुहुन्थ्यो । पछि पछि भने 'तस्बिरमा नेपाल' भन्ने पेज पनि बनाउनुभयो । पहिले उहाँले फोटोमात्र हाल्ने गरेकोमा पछि भने फोटोसँग सम्बन्धित इतिहासका बारेमा पनि केही जानकारी हाल्न थाल्नुभयो । लकडाउनको समयमा भने उहाँले युट्युब च्यानलमार्फत यस्तै इतिहासका कुरा हाल्न थाल्नुभयो । 

अहिले उहाँसँग भएका पुराना फोटोमा सन् १८९० तिर सीसी टेलरले खिचेको फोटोहरू छन् । उहाँसँग भएका पुराना फोटोहरू बैंक तथा अन्य सङ्घ–संस्थाले क्यालेन्डरमा राख्नका लागि पनि लैजाने गरेका छन् । यसका लागि भने उहाँले केही शुल्क पनि लिने गर्नुहुन्छ । हिमालयन बैंकको क्यालेन्डरका लागि उहाँले एउटा फोटोको पाँच हजार रुपैयाँसम्म लिनुभएको छ । 

उहाँ आफैँ पनि फोटो खिच्नुहुन्छ । गाडी नचढेर हिँड्दा जोगिएको पैसाबाट दश वर्ष पहिले उहाँले पच्चीस हजार रुपैयाँमा क्यामरा किन्नुभएको हो । 

फोटो खिच्दा भने उहाँ आफूसँग रहेका इतिहाससँग सम्बन्धित फोटोलाई आधार मानेर फोटो खिच्ने गर्नुहुन्छ । जस्तो उहाँले कुनै मन्दिरको फोटो खिच्नुभयो भने पहिले त्यो मन्दिर कस्तो थियो भनेर पुरानो फोटो पनि सँगै राख्ने गर्नुहुन्छ । 

अहिले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावअघि काठमाण्डौको पुरानो संरचना कस्ता थिए भन्नेबारेमा बुझ्न पनि उहासँग पुरानो फोटो मागेर हेर्नुभएको थियो । 

अर्ग्यानिक खाद्यान्न पसल 

फोटोग्राफी बाहेक उहाँको अर्ग्यानिक खाद्यान्न पसल पनि छ । बिहान भने उहाँ आफैँ पसलमा बस्नुहुन्छ । पसलमा अरू बेला आउने ग्राहक त्यति नहुने कारणले काम विशेषले बाहिर जानुपर्‍याे भने उहाँ पसल बन्द गरेरै हिँड्नुहुन्छ । 

दाल, चामल, तेल, मसला, घिउ, मह जस्ता अर्ग्यानिक खाद्यान्न पाइन्छ उहाँको पसलमा । उहाँ सकभर ७७ जिल्लाको उत्पादन नै ल्याउनुहुन्छ बेच्न । यसको एउटा कारण भने उहाँ आफैँले खानका लागि पनि हो भने अर्को भनेको खाद्य सङ्कट भयो भने त्यसलाई भण्डारणको रूपमा प्रयोग गर्न सकियोस् भन्ने पनि हाे ।

फोटोग्राफीको सन्दर्भमा उहाँले पचास जिल्लाको भ्रमण गरिसक्नुभएको छ । यसै सन्दर्भमा कहाँको के चिज राम्रो हो भन्ने उहाँलाई जानकारी छ । यस कारण पनि राम्रो चिज आफू पनि खाने अरूलाई पनि खुवाउने उद्देश्य हो उहाँको पसलको । 

साथीभाइको एउटा समूह भएका कारण पनि उहाँलाई कहाँको के राम्रो र कसरी प्राप्त गर्न सकिन्छ भन्ने थाहा भएको हुनाले पनि ती वस्तु सङ्कलनमा अप्ठेरो हुँदैन । 

अर्ग्यानिक खाने एउटा समूह भएका कारण उनीहरूसँग पैसाकाे मोलमोलाइ पनि गर्नुनपर्ने र अर्डर अनुसार नै सामान पठाउने हुँदा पनि पसलमा बस्न त्यति जरुरी छैन भण्डारीलाई । 

विशेषगरी सुगर, प्रेसर र अन्य रोगी तथा अरू पैसाको मतलब नगर्ने मान्छेले भने अर्ग्यानिक खोजीखोजी किन्ने गरेको अनुभव छ उहाँको । 

उहाँले उवा, कागुनो जस्ता चिजको नाम पसल गर्नु अगाडि सुन्नुभएको पनि थिएन । बासको चिन्ता बुबाले टाढा गरेपछि गाँसका लागि आफू खाद्यान्न पसलमा होमिएको बताउनुहुन्छ भण्डारी । 

दारी ग्याङ

उहाँको खैरो रङको टिसर्टमा ‘बियर्डड फर हर प्लेजर’ लेखेको र चस्मा लगाएको अनि दारी पालेको आफ्नै फोटो छ । टिसर्टमा दारी ग्याङ लेखेको ब्याचसमेत झुन्डिएको छ । 

२०७२ सालको भूकम्पपछि समस्यामा परेका मान्छेलाई उद्धार र राहतका लागि सहयोग गर्ने उद्देश्यका साथ खुलेको हो दारी ग्याङ । त्यस बेला फेसबुकमा समूह बनाउने निकै चलन पनि थियो । 

उहाँ इतिहाससँग सम्बन्धित कुराको जानकारी लिनका लागि शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न गइरहनुहुन्थ्यो । अनि एक दिन जाने बेलामा अर्को साथी पनि थिए । सँगै जाने बेलामा दुवै जनाको दारी देखेर जोशीले के हो दारी ग्याङ बनेर आउनुभएको छ भन्नुभएको थियो । 

नाम रहनु अगाडि पनि दश/बाह्र जना दारी पाल्ने उहाँका साथीहरू सहयोगका लागि जताततै पुगिरहनु हुन्थ्यो । पछि समूहको नाम राख्ने बेलामा दारी ग्याङ किन नराख्ने भन्ने सल्लाह भयो । साथीहरूको कुरो मिलेपछि समूहको नाम दारी ग्याङ यसरी रहन पुग्यो । 

दारी ग्याङ नाम राख्नुको पछाडि दारीप्रतिको नकारात्मक धारणा हटाउनु पनि उद्देश्य थियो । अहिले दारी पाल्नेलाई नराम्रो धारणाले नहेर्ने र यसले एउटा फेशनको रूप लिएकोमा पनि दारी ग्याङ खुसी रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया