झाडापखालाका बिरामी बढ्दै, फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

 जेठ २५, २०७९ बुधबार ८:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।

कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछाेपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

यस्तै, बासी खानेकुरा खाँदा र सरसफाइमा ध्यान नदिएका कारण पनि झाडापखाला देखिएको हुन सक्ने उहाँले बताउनुभयो । अहिले धेरैजसोले जारको पानी पिउने गरेका छन् । तर, कतिपय जारका पानी शुद्ध नहुने भएकाले उमालेर मात्रै पानी पिउन र घरकै सफा र स्वस्थ खाना खान डाक्टरको सुझाव छ । अहिले गर्मीसँगै पानी पनि पर्न थालेकाले झाडापखालाजस्ता सरुवा रोगको जोखिम बढेको छ । अहिले काठमाण्डौ उपत्यकाका धेरैजसो सरकारी अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि पुगेका छन् । यस्तो बेला सामान्य कुरामा ख्याल नगरे हैजासमेत फैलिने जोखिम रहेको डाक्टरको पुनको भनाइ छ ।

छिमेकी देश भारतमा समेत हैजा देखिएकाले खानपान र स्वस्थ जीवनशैली नअपनाए नेपालमा पनि फैलने जोखिम रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा लामो समयदेखि थुप्रिएकाे फाेहरका कारण पनि हैजा फैलने जोखिम उच्च रहेको डाक्टरले बताएका छन् । फोहर थुपारेर राखेका ठाउँमा दुर्गन्ध फैलिएको छ । यसबाट किटाणु फैलिन्छ । फोहर नजिकै फलफूल, तरकारी तथा खानेकुरा समेत बिक्री भइरहेकाले यस्ता सामान र खानेकुराबाट किटाणु घरघरमा पुग्ने सम्भावना रहेको डाक्टर पुनले बताउनुभयो ।

फोहरमा भएका झिँगा, साङ्ला, मुसा, कागलगायतको माध्यमबाटसमेत किटाणु फैलन सक्छ। किटाणुबाट मानिसमा सङ्क्रमण भइसकेपछि मानिसको दिसापिसाबको माध्यममार्फत झाडापखाला तथा हैजा जस्ता सरुवा रोग फैलने डाक्टरले बताएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवम् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी फोहर व्यवस्थापन नहुँदा झाडापखाला, हैजा, रुघाखोकी, जण्डिस, टायफाइड जस्ता धेरैखाले सङ्क्रमण फैलन सक्ने बताउनुहुन्छ । यस्ता रोगको सङ्क्रमणबाट जोगिन फोहर व्यवस्थापन नै प्रमुख उपाय भएको उहाँले बताउनुभयो । यो सँगै सफा र शुद्ध खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन सके सङ्क्रमण हुन पाउँदैन ।

झाडापखाला लागेपछि घर नजिकैको मेडिकलमा गएर औषधि किनेर खाने धेरैको बानी रहेकाले त्यसो नगर्न पनि डाक्टरको आग्रह छ । झाडापखाला लाग्ने बित्तिकै जीवनजल खान तर समस्या बढ्दै गए तुरुन्त अस्पताल र स्वास्थ्य संस्था जान डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया