लोसपाका नेतालाई खुला हृदयले स्वागत गर्न तयार छौँ : अध्यक्ष यादव

 जेठ २५, २०७९ बुधबार १३:२८:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरू स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो, ‘विगतको समीक्षा गरी पुनः पार्टी एकता गर्न लोसपाका नेता आउनुभयो भने हामी हृदयदेखि नै उहाँहरूलाई स्वागत गर्न तयार छौँ ।’  

‘फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरूलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्रह गर्दछौँ’ , अध्यक्ष यादवको भनाइ थियो । ‘हिजो पार्टी किन फुटाइयो ? विभाजनले कसलाई फाइदा भयो ? त्यसको समीक्षा गर्नु जरुरी छ’ , अध्यक्ष यादवले भन्नुभयो, ‘पार्टी विभाजनको कुनै औचित्य थिएन, यसबाट उहाँहरूलाई त फाइदा भएन ।’  उहाँले भन्नुभयो, ‘त्यसैले यी कुराको समीक्षा गरी उहाँहरू आउनुभयो भने हामी खुला हृदयले स्वागत गर्न चाहन्छाैँ, हामी खुला छौँ ।’   

लोसपालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ, यदि लोसपा सरकारमा आयो भने तपाईँहरू के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले भन्नुभयो, ‘लोसपा सरकारमा आयो भने हामी स्वागत गर्छाैँ, सहयात्रा गरेर अघि बढ्छौँ ।’ 

पाँच दलीय गठबन्धन आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि कायम रहने जिकिर गर्नुहुँदै उहाँले लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र लोकतन्त्रलाई बलियाे बनाउन गठबन्धनलाई अझै कायम राख्नुपर्नेमा जोड दिनुभयो । 

नागरिकताको अभावमा ठूलो सङ्ख्यामा नागरिक मताधिकारबाट वञ्चित भइरहेको भन्दै उहाँले अहिलेकै प्रतिनिधि सभाको बैठकबाट नागरिकतासम्बन्धी विद्येयक पारित गरी नागरिकताविहीनलाई नागरिकता उपलब्ध गराउनुपर्ने बताउनुभयो । सरकारले ल्याएको सङ्घीय निजामती ऐनको विधेयक लामो समयदेखि अलपत्र पर्दा सङ्घीय प्रणाली कार्यान्वयनमा समस्या भइरहेको उहाँले उल्लेख गर्नुभयो । जनसङ्ख्याको आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारणको माग गर्नुहुँदै अध्यक्ष यादवले जनगणनाअनुसार तराई मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले त्यही अनुपातमा तराई मधेसका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभयो । 

अहिलेको निर्वाचन प्रणाली असाध्यै खर्चिलो र बेथितिपूर्ण रहेकाले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले यही निर्वाचन प्रणाली रहीरहे राजनीति धेरै महँगो हुने र त्यसले देशको राजनीतिक व्यवस्था नै धरापमा पर्ने चेतावनीसमेत दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया