फोहर जाने मोहर, नजाने सधैँ यस्तै यसपाला न पोहोर !

 जेठ २६, २०७९ बिहीबार १४:१३:१६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ मखन टोलका रेडिमेड कुर्ता सुरुवाल व्यापारी चक्र रावल आफ्नो पसल अगाडि फालिएको फाेहरका कारण तनावमा हुनुहुन्छ । रावल भन्नुहुन्छ, ‘आफू पनि पसलमा लामो समय बस्न सकिँदैन । ग्राहक पनि फाेहर छ भनेर आउँदैनन् ।’ 

उहाँको पसल सुरज आर्केडको दक्षिणपट्टि रहेको जगन्नाथ मन्दिरसँगै रहेको छ । पसलमा जानका लागि फाेहरको थुप्रो भएर जानुपर्छ । थोरै भए पनि फाेहर नटेकी जान सम्भव छैन । रावल प्रश्न गर्नुुहुन्छ, ‘अब यस्तोमा को ग्राहक आउँछन् ?’

उहाँका अनुसार मखन टोलमा फालिएको फाेहर यहाँका व्यापारीले फालेको नभइ लस्सी पसल, रेष्टुरेण्ट र इन्द्रचोक तथा आसपासका बासिन्दाले ल्याएर फाल्ने गरेका हुन् । ‘व्यापारीले त एक/दुई वटा प्लाष्टिक फाल्ने न हुन् । त्यसमाथि त्यो फाेहर त यहाँका सडकका फाेहर उठाएर बेच्नेले लगिहाल्छन्’, उहाँ भन्नुहुन्छ, ‘यो त कुहिने खालको फाेहर हो । यसले धेरै दुर्गन्ध ल्याउँछ ।’

‘यहाँ फाेहर नउठेको तीन दिन मात्र भयो । तर, तीन दिनमै यस्तो अवस्था छ भने अझै दुई/चार अझ लम्बियो भने हालत के होला’ उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

कुहिने प्रकृतिको फाेहर भएको हुनाले यसलाई केही समय व्यवस्थापन गरेर यहाँका बासिन्दाले दुई/तीन दिन नफालिदिएको भए राम्रो हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । 

व्यापारीले त आफ्नो व्यापारमा ग्राहक आउँदैनन् भनेर पनि फाेहर नगर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘व्यापारीले फाेहर होइन बरु सफा गर्छन् ।’

अर्की व्यापारी सफला खड्गी पनि फाेहर जथाभाबी फालिएकोमा आक्रोशित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फाेहर यसरी फाल्न त नहुने हो तर, केही व्यवस्था नभएकोले ल्याएर फाेहर फालेका होलान् । यसको व्यवस्थापन चाँडै गरिदिए राम्रो हुन्थ्यो ।’

उहाँका अनुसार जसले फाेहर व्यवस्थापन गर्ने हो उनीहरुले नै फाेहर फाल्ने मान्छेलाई फाेहर व्यवस्थापन सम्बन्धमा के गर्न सकिन्छ भनेर सिकाइदिए आउने दिनमा समस्या यसरी नआउन सक्छ । 

‘फाेहर भएपछि हामी आफैँलाई त पसल आउन मन लाग्दैन भने अरु ग्राहक के आउलान् । मान्छेहरु फाेहरका कारण यो बाटो नै हिँड्दैनन् । बाटो नै नहिँडेपछि अब व्यापार के गरी होला र !’ उहाँ भन्नुहुन्छ, ‘दुई/तीन दिन त घरमा पनि व्यवस्था गर्न सकिन्थ्यो होला । तर, त्योभन्दा धेरै भएपछि त घरमा पनि राख्ने ठाउँ हुँदैन । घरमा नै पनि गन्हाउन थाल्छ ।’

न्युरोडका व्यापारी तथा स्थानीय सुमन तण्डुकार काठमाण्डौमा फाेहरको समस्या सधैँ भए पनि अहिले नयाँ मेयर आएका कारण बढी चर्चा गरिएको बताउनुहुन्छ । नयाँ मेयरले फाेहर व्यवस्थापन गर्छु भनेका कारण पनि यसको चर्चा बढी भएको हो । 

उहाँ यहाँ फालिने प्रायजसाे फाेहर घर तथा रेष्टुराँबाट आउने स्वीकार गर्नुहुन्छ । ‘व्यापारीले फाल्ने भनेको फाेहर धेरै हुँदैन । घरबाट र रेष्टुराँ तथा अन्य खाजा अनि यस्तै खाद्य पसलबाट आउने फाेहर धेरै हो’ तण्डुकार भन्नुहुन्छ, ‘तर, आफू यहाँको स्थानीय समेत भएका कारण फाेहर कहीँ न कहीँ त फाल्नु पर्यो नि । घरमा राख्न पनि कति दिन राख्ने ? केही व्यवस्था त हुनुपर्यो नि ।’

फोहर थुप्रिएको ठाउँका व्यापारी र बासिन्दालाई मात्र होइन, पैदल यात्रुलाई पनि उस्तै सास्ती छ । सुन्धारामा नाक थुनेर हिँडिरहनु भएका अनिश तामाङ भन्नुहुन्छ, ‘बिहान बेलुका सधैँ यही बाटो हिँड्नु पर्छ कति नाक छोपेर हिँड्नु !’

एकछिन नाक छोपेर हिँड्नु समस्याको समाधान होइन । तर, सधैँ यसरी त साध्य चल्दैन भन्दै आक्रोशित हुँदै तामाङ भन्नुहुन्छ, ‘फाेहरको समस्या सधैँ यस्तै हो । यसको स्थायी समाधान ननिकालेसम्म यस्तै हो । यसलाई कुहाउने, जलाउने के गर्ने हो यसको स्थायी समाधान तिर जानुपर्यो । नत्र त फाेहर फाल्ने ठाउँमा फाल्न नदिने बित्तिकै सधैँ समस्या हुन्छ ।’

काठमाण्डौ महानगरपालिकाले मङ्गलवार स्थानीयको अवरोधकाबीच प्रहरी परिचालन गरी मङ्गलवार १ सय ५७ ट्रक फाेहर बञ्चरे डाँडामा विसर्जन गरेको थियो । तर त्यसपछि फेरि अवरोध भएको छ । काठमाण्डौमा फाेहरको समस्या उस्तै छ । 

कुहिने र नकुहिने नछुट्याउनको फाेहर उठ्दैन

सरिता राई

प्रमुख, वातावरण व्यवस्थापन विभाग काठमाण्डौ महानगरपालिका 

काठमाण्डौ महानगरपालिकाले फाेहरको समस्या दीघकालीन रुपमा समाधान गर्ने उद्देश्यले अबदेखि स्रोतमा अर्थात फाेहर उत्पादन हुने ठाउँ चाहे त्यो व्यक्तिगत घर होस्  वा होटल, रेष्टुरेन्ट वा अन्यत्रबाट निस्कने फाेहर होस् अब अनिवार्य रुपमा कुहिने, नकुहिने गरी आफैँले छुट्ट्याउनु पर्ने र नछुट्टिएका फाेहर उठाउने गर्दैन । 

फाेहर छुट्याउनका लागि सबैभन्दा पहिले महानगरले सूचना प्रकाशन गर्ने, छुट्टिएको फाेहर मात्रै सङ्कलन गर्ने तथा छुट्टिएका फाेहर पनि फरक फरक बार सङ्कलन गरेर छुट्टाछुट्टै विसर्जन गर्ने तयारी गरेको छ । 

कुहिने र नकुहिने फाेहर सङ्कलन गर्न महानगरले भाँडो दिन्छ भन्ने हल्ला चलेको पनि सुनियो । तर, महानगरले भाँडो दिने नभइ आफैँले छुट्टै भाँडोमा फाेहर छुट्याएर राख्नुपर्छ । विगतको अनुभवले पनि सम्पूर्ण महानगरवासीलाई त्यसरी भाँडो बाँड्नु प्रभावकारी पनि नदेखिएको र खर्चका हिसाबले पनि उचित नभएकोले महानगरवासी आफैँले कुहिने र नकुहिने फाेहर छुट्ट्याएर राख्नुपर्नेछ । 

ऐनले पनि फाेहर छुट्याउनु पर्ने र नछुट्याएमा कारबाही गर्ने भन्ने छ । तर, अहिले तत्काललाई कारबाही भनेको नछुट्टिएको फाेहर सङ्कलन नगर्ने नै हो । केही समय बानी नपरुन्जेल अप्ठ्यारो हुने हो । बानी परेपछि उहाँहरु आफैँले त्यो सबै गर्नुहुन्छ । त्यो सबैको लागि फाइदाजनक नै हुन्छ । 

दीर्घकालीन उपाय भनेकै फाेहर छुट्याएर विसर्जन गर्नु हो 

डा.भोजराज पन्त

वरिष्ठ वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

फाेहरको तत्कालीन समाधान भनेको आपसी कुराकानी गरेर अहिले फालिरहेको ठाउँमा फाेहर उठाएर फाल्ने नै हो यसमा अरु कुनै वैज्ञानिक उपाय तुरुन्तै अपनाउन सकिँदैन । अहिले काठमाण्डौ महानगरपालिकाले नगन्हाउनका लागि ‘केमिकल’ प्रयोग गर्न थालेको र यो पनि केवल नगन्हाउन लागि मात्र हो । 

तर, दीर्घकालीन समाधानका लागि भने जहाँबाट फाेहरको उत्पादन हुन्छ त्यहीँबाट यसको समाधान सुरु गर्नुपर्छ । अब फाेहर जहाँबाट उत्पादन हुन्छ त्यहीँ नै छुट्ट्याउनु पर्छ । अब यो सामान्य कुरा भइसकेको छ र यसका बारेमा धेरैलाई जानकारी पनि भइसकेको छ । कुहिने फाेहरलाई एकातर्फ, पुनः प्रयोग हुनसक्ने फाेहर एकातर्फ र नकुहिने फाेहर एकातर्फ गरेर अब फाेहरलाई उत्पादन स्थलबाट नै छुट्याउनु पर्छ । 

कुहिने फाेहरलाई हामी घरमै व्यवस्थापन गर्न सक्छौँ । कतिपयलाई काठमाण्डौमा ठाउँ नै छैन कहाँ राख्ने भन्ने लाग्न सक्छ । तर काठमाण्डौका भित्री क्षेत्रबाहेक बाहिरी भागमा सानो फूल रोप्ने ठाउँ हुने तथा गमलामा पनि त्यति मल खपत गर्न सकिने हुँदा यसमा समस्या छैन । 

काठमाण्डौ उपत्यकामा उत्पादन हुने ७५ प्रतिशत फाेहर भनेको कुहिने फाेहर हो । यदि ७५ प्रतिशत फाेहरलाई यहीँ तह लगाउन सकियो भने बाँकी हुने भनेको २५ प्रतिशत मात्र हो । 

२५ प्रतिशत फाेहरमा पनि १५ प्रतिशत भनेको पुनः प्रयोग गर्न सकिने फाेहर छ । प्लास्टिक, सिसा फलाम जस्ता फाेहरलाई पुनः प्रयोगमा ल्याउन सकियो भने अर्को उत्पादन हुन्छ । बाँकी रहने भनेको १० प्रतिशत फाेहर मात्रै हो ।

यदि अहिले १ सय ५० ट्रक फाेहर दैनिक फाेहर लिएर जान्छन् भने त्यसपछि ५ ट्रक मात्रै जाने गर्छ । त्यसले खर्च पनि घट्छ भने ठाउँ पनि कम मात्र खाने गर्छ र ल्याण्डफिल साइटको आयु पनि बढाउँछ । 

नयाँ मेयरले घरघरमा फाेहर छुट्ट्याउने भन्नु भएको छ । दीर्घकालीन उपाय भनेको नै त्यही हो । अर्को कुरा अहिले ल्याडफिल साइटको मुख्य समस्या भनेको दुर्गन्ध हो । कुहिने फाेहर त्यहाँ गएन भने दुर्गन्ध हुँदैन । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया