फोहोरको दलदलमा दलको संकथन : स्वतन्त्रले सक्दैनन् !

 जेठ २६, २०७९ बिहिबार १६:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

फोहोरबाट मोहोर मात्रै होइन, त्यो फोहोरमा राजनीतिको रोटी पनि पाक्छ । यसको पछिल्लो उदाहरण बनाइँदैछन् काठमाण्डौको फोहोर तह लगाउन कस्सिएका युवा मेयर बालेन्द्र साह र दलभन्दा परका साच्चिँकै स्वतन्त्र व्यक्तिले सक्दैनन् भन्ने संकथन निर्माणमा दत्तचित्त राजनीतिक दलका माहिर खेलाडी । स्वतन्त्रले सक्दैनन् भन्ने संकथन निर्माणमा फोहोर तह लगाउने सहमतिमा सही गर्ने ककनीका माओवादी र धुनीबेसीका मेयरदेखि लिएर कांग्रेस सांसद गगन थापासम्म सबै सामेल भएका देखिन्छन् । 

काठमाण्डौको सडकमा अहिले मात्रै होइन, पहिले पनि यसैगरी फोहोरको डङ्गुर लाग्थ्यो । मान्छेहरू नाकमुख थुन्दै हिँड्थे, महानगर र सरकारलाई गाली गर्थे । फेरि केही दिन फोहोर उठ्थ्यो, अनि उसैगरी थुप्रो लाग्थ्यो । फोहोर विसर्जन गर्ने ठाउँ सिसडोलका बासिन्दा र फोहोरमैलाको सुरक्षा गर्दै गएका प्रहरीबीच झडप हुन्थ्यो । बेलाबेला दोहोरिरहने फोहोरको यो समस्या सबैका लागि सामान्य भैसकेको थियो । तर काठमाण्डौ महानगरको नगरपिता बालेन्द्र साह हुने पक्का भएका दिनदेखि फोहोरको त्यो सामान्य दैनिकी जटिल बन्न थाल्यो । फोहोरको समस्याबाट कुस्त कमाउन बानी परेकाहरू यो समस्या सकिँदा आम्दानीको स्रोत सुक्ने भयले त्रस्त भए । फोहोरको व्यवस्थापन नगरि माला र खादा नलाउने बालेन्द्रको वचनलाई खोक्रो देखाउन यो पालि सबैखाले दल र दलका नेता कार्यकर्ता एकगठ भएर लागेका देखिन्छन् । फलस्वरूप, दीर्घकालीन समाधानको सहमति रातारात भत्किएको छ । फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका मेयर बालेन्द्र साह सहयोग खोज्दै प्रधानमन्त्रीदेखि सिसडोलका बासिन्दाको घरघरसम्म पुगेका छन् । तर सरकार, दलहरू र सम्बन्धित निकाय रमिते मात्र बनेका छैनन्, सिसडोल र बञ्चरेडाँडाका फोहोर मैला पीडितको पीडा र आक्रोशलाई बालेनविरुद्ध योजनाबद्ध रूपले भड्काउन थालेका छन् । 

बालेन्द्र साह काठमाण्डौको मेयरमा निर्वाचित भएलगत्तै बल्झिएको फोहोरभित्र धेरैथरी राजनीतिक प्रश्न जेलिएका छन् । एकथरीको भनाइमा नवनिर्वाचित मेयरले काम गर्ने तौरतरिका जानेनन्, त्यसैले समस्या बल्झियो । अर्काथरी भन्छन्, बालेनलाई असफल बनाउन दलहरूले फोहोरभित्र घिनलाग्दो राजनीति गरे । 

त्यसो त बालेन्द्रले काम गर्न जान्दैनन् भन्ने भ्रम छर्न नगर कार्यपालिकाको बैठकमै केही वडाध्यक्षहरू लागेको यथार्थ सबैले थाहा पाइसकेका छन् । अब उनलाई असफल पार्न पर्दाभित्र राजनीतिका अनेकन खेल सुरु भएको सहजै अड्कल काट्न सकिन्छ । किनकि सडकको फोहोरले महामारी फैलिने जोखिम बढ्दासम्म सरकार मेयरको छटपटी मात्र हेरेर बसेको छ । फोहोरमैला व्यवस्थापनका लागि खासै पहल थालेको छैन ।

सोमवार काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिबेसीलगायत पालिकाका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्ने सहमति भयो । तर भोलिपल्ट काठमाण्डौबाट फोहोर बोकेर पुगेका ट्रकलाई स्थानीयवासीले रोके । प्रहरीले बल प्रयोग गरेरै फोहोर खसाल्यो । तर बुधवार फोहोर बोकेर गएका ट्रक फोहोर नफाली काठमाण्डौ फर्किए । त्यसपछि फोहोर व्यवस्थापन अनिश्चित बनेको छ । 

फोहोर व्यवस्थापनमा सहयोग गर्नु सरकार र सम्बन्धित निकायसँगै काठमाण्डौका बासिन्दाको पनि कर्तव्य हो । तर काठमाण्डौमै बसेर राजनीति गर्ने नेताहरू बालेनले सकेनन् र सक्दैनन् भन्ने संकथन निर्माण गरेर स्वतन्त्रले सक्दैनन् भन्ने राष्ट्रिय सन्देश प्रवाह गर्नमै व्यस्त छन् । 

यसको एउटा उदाहरण काठमाण्डौको मेयरमा बालेनको प्रतिस्पर्धी उम्मेदवार सिर्जना सिंहको ट्वीट हेरे पुग्छ । प्रहरीको बलमा फोहोर व्यवस्थापन भएकोप्रति बुधवार उहाँले टिप्पणी गर्नुभयो, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि मिटिङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन र राम्रो पनि होइन भनेर बुझ्नुपर्योे । कामकारबाही सहमति अनुरूप हुनुपर्यो । काठमाण्डौको जनता होस् वा बञचरेडाँडाका जनता सबैलाई न्याय होस् । कामपा सरकार ! 

गगन थापाले संसदमा उभिएर फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले अघि सर्न पर्‍याे भन्नु, सहमतिमा हस्ताक्षर गर्ने ककनीका अध्यक्षले भोलिपल्टै मेयरले जानेनन् भनेर प्रचारबाजी गर्नु, अनि त्यही सहमतिमा सही गर्ने धुनीबेसीका अध्यक्षले ककनीकै अध्यक्षको लहैलहैमा बोल्नु काकताली होइन, स्वतन्त्रले सक्दैनन् भन्ने संकथन निर्माण गर्ने योजनाबद्ध अभियानको अङ्ग हो ।   

स्वतन्त्रलाई असफल पार्ने खेल

काठमाण्डौमा बालेन्द्र साहले चुनाव जित्छन् भन्ने कुनै पनि दललाई पत्यार थिएन । केशव स्थापितले त चुनाव नहुँदै आफूलाई विजेताको घोषणा गरिसकेका थिए । तर सबैलाई चकित पार्दै बालेन्द्र फराकिलो मतान्तरसहित मेयरमा निर्वाचित भए । फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नपहिरिने कसम खाए । मेयरमा निर्वाचित हुनुअघि र भैसकेपछि पनि सिसडोलका बासिन्दासँग पटकपटक भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । त्यहाँका बासिन्दाको समस्यालाई नजिकबाट नियाले र सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

फोहोर व्यवस्थापनसँगै महानगरका अरू काममा सहयोग खोज्दै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूको दैलो दैलोमा पुगे । काठमाण्डौका जनप्रतिनिधिसँगै छिमेकी पालिकाका जनप्रतिनिधिसँग संवाद बढाए । उनीसँगको भेटमा सबैले उनको सोचको प्रशंसा गरे । सहयोग गर्ने वचन दिए । सरकारदेखि सबै दल तथा सम्बन्धित निकायको वचनको बलबाट फोहोर व्यवस्थापनको काममा लागे । तर भेटमा वचन दिएजस्तो काममा उनले सहयोग पाउन त परैको कुरा भयो, भित्र भित्र कडा असहयोगको सामना गरिरहेका छन् । फोहोर उठाउने काम मेयरको मात्रै हो र फोहोर नउठेमा र यसबाट महामारी फैलिएमा उनी नै जिम्मेवार हुन्छन् भन्ने पारामा सरकार, दल र सम्बन्धित निकायका पदाधिकारी पत्रकारलाई ब्रिफिङ गर्न थालेका छन् । र काम गर्नुको साटो हात बाँधेर रमिता हेर्न मस्त छन् । काठमाण्डौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र नभएर दलका कोही भएका भए सबैले यसैगरी हात बाँधेर बस्थे त ? पक्कै बस्दैन थिए । गठबन्धनको मेयर भएको भए सबै स्रोतसाधन र बल प्रयोग गरेर सरकारले फोहोर व्यवस्थापन गरिसक्थ्यो । एमालेको मेयर भएको भए सदनमा अवरोध गरेर सरकारलाई फोहोर उठाउन बाध्य पारिन्थ्यो । तर बालेन्द्रलाई भेट्दा सहयोग गर्छु भने पनि काममा सहयोग गर्न न सरकार अघि सरेको छ, न प्रतिपक्षी दल । फोहोरकै कारण बालेनलाई असफल बनाउन सकियो भने आउँदो चुनावमा स्वतन्त्र र युवाहरू उम्मेदवार हुन हतोत्साही हुनेछन् भन्ने दलहरूले बुझेका छन् । 

पालिका चुनावमा काठमाण्डौमा बालेन्द्र, धरानमा हर्क साम्पाङ जस्ता पार्टीहरूबाट टाढै रहेका उम्मेद्वारले जितेपछि नजिकिँदै गरेको सङ्घीय चुनावमा काठमाण्डौसहित धेरै ठाउँमा धेरै युवाले स्वतन्त्र उम्मेदवारी दिने सङ्केत दिइसकेका छन् । काठमाण्डौमा बालेन्द्रले सफलता पाउन थाले भने स्वतन्त्र उम्मेदवारको हौसला बढ्छ । नागरिकले उनीहरूलाई नै जिताउन सक्छन् । त्यसैले यही बेला बालेन्द्रलाई असफल बनाउन सकियो भने अरू स्वतन्त्र उम्मेदवारलाई पनि रोक्न सकिन्छ भन्ने कुरामा सबै दलहरू एकमतले आशावादी देखिन्छन् । तर, स्वतन्त्रले सक्दैनन् भन्ने कुरा प्रमाणित गर्न दल र यिनका कार्यकर्ता र नेताले फोहोरमाथि जे जस्तो राजनीतिक रोटी सेक्न खोजिरहेका छन्, त्यो रोटीको ठूलो भाग उनीहरूले खाने थालमै पर्नेछ । फोहोरको गन्धले सिसडोलदेखि काठमाण्डौसम्मै सिकसिकाएका बेला फोहोरमा पाकेको राटीले बालेन्द्रको पेट मात्रै बिगारे पनि दलका नेता कार्यकर्तालाई चाहिँ मतको पखाला राम्रैसित लाग्न सक्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

3 Comments

  • nothing is impossible

    June 12, 2022, 8:09 a.m.

    अलिकति त पारा नल्याका पनि हुन्। विपक्षीले पूरा सहयोग गर्छ भनेर त कसरी अपेक्षा गर्नु। सहयोग गर्ने पो बनाउनु पर्यो त। काँग्रेस हुँदा एमालेले एमाले हुँदा काँग्रेसले सहयोग गर्दैन भन्ने त जानेकै हो।

  •  0 Reply
  • Mahabir Roy

    June 10, 2022, 12:58 p.m.

    नेपाली जनताहरु भेडा हुन र पार्टिकै पछाडी फोहोरको डुंगुरमा माखा भन्के झै भन्कि रहेको छ अन्यथा यो पार्टिहरुको कै औकात छ ।

  •  0 Reply
  • Bhim kumar shrestha

    June 9, 2022, 9:38 p.m.

    अब नेपाली जनताले दल र दलका झोलेहरुलाई बढारेर फ्याक्न आउदै गरेको चुनाबमा सच्चा र इमानदार, जागरुक नयाँ युवाहरुलाई जिताउन जरुरी छ, यदि आफुसंग अलिकतिपनि बिबेक र देशप्रतिको माया छ भनेको, यत्रो वर्ष सम्म केहि गर्न नसक्ने हरुले गर्न खोज्ने हरुको पनि खुट्टा मात्र तान्नी रहेका छन्, आफ्नो बारेमा नसोचे नि आफ्ना बालबच्चा र आउने पिढिहरुको भबिष्य सोचौ l

  •  0 Reply

तपाईको प्रतिक्रिया