मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, विदेशी विनिमय सञ्चिति ओरालाे लाग्दै

 जेठ २७, २०७९ शुक्रबार १६:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो । 

चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु/तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ । 

यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भइ १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । १० महिनामा वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ भएकोमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो । 

१० महिनाको अवधिमा अघिल्लो वर्षको त्यही अवधिकाे तुलनामा रेमिट्यान्स भने बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तममा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले बढेको हो । अमेरिकी डरलमा भने वैशाखसम्ममा रेमिट्यान्स एक दशमलव ६ प्रतिशतले घटेकोे छ । डलरको भाउ बढ्दा यस्तो भएको हो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । वैशाख महिनामा मात्रै भने ८७ अर्ब नाै करोड रुपैयाँ रेमिट्यान्स आएको हो । यो रकम फागुन र चैतको भन्दा कम हो । 

वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिति भने झन् ओरालो लागेको छ । प्रतिवेदनअनुसार गएको वैशाख मसान्तसम्म देशमा नाै अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति रहेको छ । यो अघिल्लो महिनाको भन्दा ३३ करोड डलरले कमी हो । अघिल्लो वर्षको तुलनामा विदेशी मुद्राको सञ्चिति २१ दशमलव १ प्रतिशतले घटेको छ । वैशाखसम्मको सञ्चितिले ६ महिना १७ दिनको वस्तु र सेवाको आयात गर्न पुग्छ । 

विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा देशले अत्यावश्यक वस्तु र सेवा खरिद गर्ने सामर्थ्य गुमाउने जाेखिम आउनसक्छ । देशको चालु खाता पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशतभन्दा धेरै हो । कुल गार्हस्थ्य उत्पादनको आठ प्रतिशतभन्दा धेरै चालु खाता हुनु जोखिमपूर्ण मानिन्छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया