इम्बोस्ड नम्बर : जडान गर्न सजिलो, प्रक्रिया झन्झटिलाे

 जेठ ३०, २०७९ सोमबार १३:३१:३८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

जावलाखेलका नरेन्द्र लामा ठूला गाडी चेकजाँच तथा परीक्षणको कार्यालय टेकुमा इम्बोस्ड नम्बर हाल्न आउनु भएको छ । इम्बोस्ड नम्बर पाउनका लागि उहाँले अनलाइनमार्फत निवेदन दिएको एक महिना भयो । ‘यो त्यति सजिलो छैन । निवेदन दिएको एक महिनामा बल्ल यातायात कार्यालयले समय उपलब्ध गराउँछ । अनि बल्ल पाइन्छ’ उहाँ भन्नुहुन्छ, ‘सुरक्षित हुन्छ भनेर जडान गर्न आएको हो । पैसा पनि ३२ सय लाग्यो ।’

इम्बोस्ड नम्बर जडान गर्न आउनु भएका गोठाटारका रामचन्द्र कँडेलले पनि अनलाइनबाट फर्म भर्नु भएको २५ दिन भयो । इम्बोस्ड नम्बर जडान गर्न खासै समस्या महसुस नगरेको बताउनु हुने कँडेल भन्नुहुन्छ, ‘सबै काम अनलाइनबाटै हुने रहेछ । आज मेरो पालो परेर आएको । समय पनि दिएको हुनाले खासै समय पनि लागेन ।’ 

नारायणटारका भोला छत्कुलीले वैशाख २६ गते अनलाइन फर्म भरेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा दर्ता गर्नुभएको हो । प्रायः २०/२५ दिनमा मोबाइलमा एसएमएसमा सन्देश आउने भए पनि उहाँको भने सन्देश आएन । त्यसपछि उहाँले टेकुमा आएर सम्पर्क गर्नुभयो । छत्कुली भन्नुहुन्छ, ‘यहाँ आएर सम्पर्क गर्दा एसएमएसमार्फत आफैँले सम्पर्क गर्न भन्नुभयो । अनि सम्पर्क गर्दा आजको समय भन्ने आयो । अनि अहिले यहाँ नम्बर हाल्न आएको ।’

इम्बोस्ड नम्बर राख्नु अगाडि प्राविधिकले इन्जिन नम्बर सबै जाँच्ने गर्छन् । कहिलेकाहीँ अनलाइन फर्म भर्दा नम्बर फरक पर्न गयो भने निवेदन दिएर सच्याउनु पर्ने हुन्छ । तर, यदि दुई वटा वा त्योभन्दा बढी नम्बर फरक पर्न गएको खण्डमा भने फर्म नै नयाँ भर्नुपर्ने हुन्छ ।

छत्कुलीले अनलाइन भरेको नम्बर र इन्जिन नम्बर फरक पर्न गयो । यसकारण उहाँले फेरि निवेदन दिएर त्यसमा सच्याउनु पर्यो । त्यसको लागि केही समय लाग्यो ।

उहाँ भन्नुहुन्छ, ‘इन्जिन नम्बर फरक परेका कारण केही समय लाग्ने भयो । एउटा मात्र नम्बर फरक परेका कारण नयाँ फर्म नै भने भर्नु परेन ।’

इम्बोस्ड नम्बर हाल्न आउनु भएका विनय लामाको पनि अनलाइन भरेको फर्म र इन्जिन नम्बरमा एउटा नम्बर फरक पर्यो । उहाँ पनि यसका लागि निवेदन दिने तयारीमा हुनुहुन्छ । लामा भन्नुहुन्छ, ‘फर्म भरेर पालो आउँदा एक महिना लाग्यो । अब नम्बर फरक परेका कारण केही समय लाग्ने भो । अहिले खासै भिड पनि रै'नछ । ठिकै छ ।’

यातायात व्यवस्था विभाग अन्तर्गत गाडी परीक्षण कार्यालयको परिसर टेकुमा अहिले निजी गाडीमा इम्बोस्ड नम्बर जडानको काम भइरहेको छ । फर्म भरेको प्रायः २०/२५ दिनमा कहाँ कुन समयमा गएर नम्बर जडान गर्ने भन्ने सूचना मोबाइलमा आउने कारणले पनि गाडी परीक्षण कार्यालयको परिसर टेकुमा त्यस्तो भिड देखिँदैन । जनशक्तिका आधारमा अहिले गाडी परीक्षण कार्यालय टेकुमा दैनिक ५०/५५ वटा निजी गाडीमा इम्बोस्ड नम्बर जडान भइरहेको छ ।

इम्बोस्ड नम्बर जडानको काम सवारी परीक्षण कार्यालयको काम नभएर उसले ठाउँ मात्र उपलब्ध गराएको गाडी परीक्षण कार्यालयका प्रमुख मणिराम भुषालले जानकारी दिनुभयो । सवारी परीक्षण कार्यालयको मुख्य काम भने अन्तर प्रदेशीय गाडीको व्यवस्थापन हो । ‘एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सार्वजनिक र मालवाहक गाडीको बाटो इजाजत, जाँच पास, स्तर कायम, प्रदूषण जाँच लगायतको मुख्य काम हो । हाम्रो काममा असर नपर्ने गरी हामीले ठाउँ उपलब्ध गराएका हौँ’ शर्मा भन्नुहुन्छ । 

उहाँका अनुसार सवारी परीक्षण कार्यालय केवल नम्बर हाल्ने थलो मात्र हो । उहाँ भन्नुहुन्छ, ‘यो फिक्सिङ लोकेशन मात्र हो ।’ यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर जडानको व्यवस्था गर्न छुट्टै जनशक्तिको व्यवस्था गरेको छ । विभागले अहिले ८ जना कर्मचारी इम्बोस्डको लागि भनेर टेकु पठाएको छ । शर्मा भन्नुहुन्छ, ‘विभागले अहिले हामीकहाँ ८ जना छुट्टै जनशक्ति पठाएको छ । उनीहरुले माथिबाटै तलब खान्छन् । उनीहरुको आफ्नो समयमा आएर त्यो समयमा आएकालाई इम्बोस्ड जोडिदिने गरेका छन् ।’

‘फर्म भरेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा गएर पैसा तिरेपछि उहाँहरुलाई सिस्टबाट अप्वाइन्टमेन्ट आउने हो । त्यही समयमा आएर उहाँहरुले यहाँ आएर जडान गर्नुहुन्छ । हामीले अप्वाइन्टमेन्ट दिने होइन’ शर्मा अगाडि भन्नुहुन्छ, ‘कम्प्युटरमा सबै इन्ट्री भएर इम्बोस्ड नम्बर प्लेट कसलाई कुन दिने भनेर माथिबाट आएको हुन्छ हामीले दिने होइन ।’ 

इम्बोस्ड नम्बर प्लेट जडान गर्दा पहिले भएको नम्बर नभएर फरक नम्बर आउँछ । उहाँ भन्नुहुन्छ, ‘इम्बोस्डमा गाडी, बाइकलाई पहिले जडान भएको नम्बर भन्दा फरक नम्बर दिइन्छ ।’

उदाहरणको लागि यदि पहिले गाडीको नम्बर बा ३ च ६०४९ थियो भने अब उसले इम्बोस्ड नम्बर पाउँदा 'बी एए' ५८३८ नम्बरको पाउन सक्छ । यसमा अगाडिको 'बी' ले लाइसेन्समा भएको क्याटगोरी अर्थात मोटरसाइकल, स्कुटर अथवा गाडी के हो भन्ने बुझाउँछ ।

'ए' पछिको एएले भने लट भन्ने सङ्केत गर्छ । दश हजारमा यो 'एए' सकिएपछि 'एबी'को पालो आउँछ । तर पहिलेको जस्तो लटको आधारमा गाडी नयाँ तथा पुरानो भनेर छुट्याउन भने सकिँदैन । अहिले पहिले जो-जो आए उनीहरुलाई इम्बोस्ड नम्बर प्रदान गरिने तथा यो फरक व्यवस्था भएका कारण पनि नयाँ, पुरानो छुट्टिँदैन । 

गाडी धनीलाई अनलाइन मार्फत फर्म भरिसकेपछि कहिले कति बजे कहाँ जाने भन्ने सूचित गरिन्छ त्यसै अनुसार गाडी धनीले सम्बन्धित ठाउँमा गएर इम्बोस्ड नम्बर जडान गरिन्छ । इम्बोस्ड नम्बर जडान गर्दै आउनु भएका प्राविधिक राजु कार्की भने अरु कारणले भन्दा पनि प्राविधिक जनशक्तिको कमी भएका कारण केही समय लाग्ने गरेको बताउँदै भन्नुहुन्छ, ‘जनशक्तिको कमी छ । खाजा खाने फुर्सद पनि छैन । समय लिएर आएपछि हामीले खाजा खाएका छैनौँ भन्न पनि मिलेन ।’

कार्कीका अनुसार इम्बोस्ड नम्बर राख्दा एउटा आरएफआईडी स्टिकर राख्ने गरिन्छ जसले गाडी तथा गाडी धनीको बारेमा सबै जानकारी दिने गर्छ । साथै इम्बोस्ड नम्बर प्लेटमा एकातर्फ मात्र कस्न मिल्ने पेचकिलाको प्रयोग हुन्छ जसले गर्दा यसलाई फेरि झिक्छु भन्न मिल्दैन ।  यदि जबरजस्ती गरेमा नम्बर प्लेट नै झर्ने हुन्छ । 

इम्बोस्ड नम्बर जडान गर्नको लागि अनलाइन फर्म भरेर दस्तुर बुझाइसकेपछि व्यक्ति गाडी धनी भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनी भए कम्पनी दर्ताको प्रमाणपत्र तथा गाडी कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित यातायात कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

सवारी परीक्षण कार्यालय टेकुमा निजी गाडीमा इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था गरिएको छ । सरकारी गाडीको हकमा भने यातायात व्यवस्था विभाग तथा दुईपाङ्ग्रे गाडीमा भने यातायात कार्यालय गुर्जुधारामा जडान भइरहेको छ । सरकारले साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य भने पनि चौतर्फी विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ।

अन्तिम अपडेट: बैशाख २, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया