असोज यता मात्रै २ सय ३ जनाविरुद्ध राजस्व छलीका मुद्दा, २० अर्ब ६१ करोड रुपैयाँ बिगो माग

 जेठ ३०, २०७९ सोमबार १६:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले पछिल्लो नाै महिनामा १० अर्ब ३० करोड रुपैयाँ जरिबाना माग गरेर दुई सय तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

विभागका महानिर्देशक प्रकाश पौडेलले गएको असोज १८ गतेदेखि यही जेठको ३० गते अर्थात् आजसम्म ६९ वटा मुद्दामा दुई सय तीन जनालाई प्रतिवादी बनाएर १० अर्ब ३० करोड रुपैयाँ जरिबाना तथा जरिबानाको दोब्बरले हुन आउने २० अर्ब ६१ करोड रुपैयाँ बिगो मागदाबी गरेर उच्च अदालतहरूमा मुद्दा दायर गरिएकाे जानकारी दिनुभएको छ । 

यस्तै विदेशी मुद्रा अपचलनको आरोपमा ४६ वटा मुद्दामा ७८ जनालाई प्रतिवादी बनाएर एक अर्ब १० करोड रुपैयाँ बिगो रकम माग गरेर मुद्दा दायर भएको पनि विभागले जनाएको छ । 

यस्तै भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ६ सय ६८ वटा फर्म र गाडीलाई कारबाही गरेर तीन करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा सात सय १३ वटा नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन भएका छन् । 

पछिल्लो समय आयातमा भएको कडाइका कारण चिनी, लत्ता कपडा, रक्सी र विद्युतीय सामग्रीको चोरी पैठारी बढेको तथा नियमित भन्सार विन्दु प्रयोग नगरि एकै पटक गोदामस्थलमा स्रोत नखुलेको वस्तुको भण्डारण र कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धानलाई तीव्र बनाइएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया