जापान बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता कागज बनाएर ७ करोडको जग्गा किर्ते गर्ने ५ जना पक्राउ

 असार ५, २०७९ आइतबार १७:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौको कीर्तिपुरमा रहेको झन्डै सात करोड रुपैयाँको जग्गा किर्ते गरेर बेच्ने पाँच जना पक्राउ परेका छन् । २४ वर्षदेखि जापानमा बस्दै आएकी जग्गाधनी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर उहाँको नाममा रहेको ११ आना दुई पैसा जग्गा किर्ते गरी अर्कैलाई बेच्ने पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्चीका गणेशबहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोसीका बाबुराम कार्की, नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रेमप्रसाद खनाल र काठमाण्डौको काभ्रेस्थलीकी डासीमाया श्रेष्ठ रहेका छन् । उनीहरूले जापानमा रहेकी जग्गाधनी शान्तादेवी लोहनीको मृत्यु भएको र उहाँको मृत्युपछिको हकवाला श्रीमान् तारानिधि लोहनी भएको भन्दै शान्तादेवीको जग्गा नक्कली तारानिधि लोहनीको नाममा नामसारी गरेका थिए । नामसारी भएको जग्गा उनीहरूले भक्तपुरकी सुनिता कर्माचार्यलाई २०७७ सालमै बिक्री गरिसकेका थिए ।

सक्कली जग्गाधनी शान्तादेवी लोहनीले नेपाल आएको बेला गएको जेठ १३ गते मालपोत कार्यालय कलङ्कीमा गएर आफ्नो जग्गाको बायाेमेट्रिक गर्ने क्रममा २०७७ सालमै जग्गा बिक्री भएको पाइएको थियो । पीडित शान्ताको उजुरीको आधारमा सीआईबीले जग्गा किर्तेमा संलग्न पाँच जनालाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हो ।

पक्राउ परेका पाँच जनामध्ये दार्चुलाको मालिकार्जुनका महावीर चन्दले मृतक शान्ताको श्रीमान् तारानिधि लोहनी आफू नै भएकोले उनको नाममा रहेको ११ आना दुई पैसा जग्गा नामसारी गरी पाउँ भन्दै नक्कली नागरिकतासमेत बनाएर निवेदन दिइ जग्गा आफ्नो नाममा ल्याएका थिए । अरू चार जनाले उनलाई सघाउने र जग्गा बिक्रीमा संलग्न रहेको पाइएको छ । उनीहरूले विभिन्न ठाउँमा थप चार बिघा जग्गा किर्ते गरेर ठगीको तयारी गरिरहेको समेत पाइएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया