नेपालले आफ्नाे भू–भाग चाहियाे भन्नु कुनै देशसँगकाे सम्बन्ध बिगार्नु हाेइन : केपी ओली

 असार ७, २०७९ मंगलबार १४:८:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनुभएकाे हो । 

आज मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक–पटक राखेको पनि स्मरण गराउनुभयो । 

उहाँले भन्नु भयो, ‘छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनुपर्दछ । मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे । २१ औँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्नाा सत्ता स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदाबाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । खुलस्त पनि हुनुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भू–भाग हो । त्यसपछि एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बस्यो र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ । यो हाम्राे भू–भाग हो । यसमा हामीले अर्घेल्याइँ गर्‍याैँ कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन ।

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया