रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीक...
जेठ २८, २०८० आइतबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनुभएको छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका लागि सङ्घीय कर निलम्बन गर्न लागेको बाइडेन प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । यसका लागि राष्ट्रपति बाइडेनले भोलि बिहीवार बस्ने सङ्घीय संसद्को बैठकमा अनुरोध गर्ने तयारी गर्नुभएको छ ।
अमेरिकामा ग्यासमा प्रति ग्यालेन अर्थात् तीन दशमलव ७८ लिटरमा १८ सेन्ट सङ्घीय कर लाग्छ । रुस–युक्रेन युद्ध सुरु हुनुअघि अमेरिकामा प्रति ग्यालेन ग्यासको मूल्य तीन डलर रहेकोमा अहिले बढेर पाँच डलर पुगेको छ । केही राज्यमा कर बढी भएका कारण प्रति ग्यालेन ६ डलरसम्म पुगेको छ ।
राष्ट्रपति बाइडेनले सङ्घीय कर निलम्बन गर्नुका साथै राज्य सरकारको करलाई समेत घटाएर प्रति ग्यालेन एक डलर भाउ घटाउन अनुरोध गर्नुहुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । कर निलम्बनले मात्रै बढिरहेको मूल्यमा राहत नपुग्ने भएकाले राहतका अरू प्याकेज बारेमा पनि राष्ट्रपति बाइडेनले छलफल गरिरहनुभएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।