महानगरपालिकाको बजेट : पूर्वाधार विकासमा प्राथमिकता

 असार ११, २०७९ शनिबार ७:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सबै महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । हिजो सार्वजनिक भएको बजेटमा ६ वटै महानगरपालिकाले पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित विकासलाई जोड दिएका छन् ।

काठमाण्डौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख, ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख, पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार, विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख,  भरतपुर महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार र वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएका छन् । 
ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षमा २९ वटा हरियाली पार्क बनाउने भएको छ ।

गएको पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको महानगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापन गर्दै सहरलाई सफा र सुन्दर बनाउन बालकुमारीमा रहेकाे अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने ललितपुरको महानगरको कार्यक्रममा उल्लेख छ ।

फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ ।

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पुर्याइने महानगरको कार्यक्रममा उल्लेख छ । आउँदो आथिर्क वर्षमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग बन्ने महानगरपालिकाले जनाएको छ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागू गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ ।

परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डीपीआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार बुङ्मति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ । 

काठमाण्डौ महानगरपालिकाले अरु पूर्वाधारसँगै हिटी, मठमन्दिर निर्माणदेखि महानगरको कला, संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन विशेष कार्यक्रम गरिने योजना छ । एमपी थिएटर निर्माणदेखि सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सीसीटिभी, विपद् जोखिम नक्साङ्कन, दमकल स्टेशनको विस्तार, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, सार्वजनिक जग्गा संरक्षण एवम् हरियाली पार्क निर्माण जस्ता कार्यक्रम मुख्य प्राथमिकतामा छन् ।

यस्तै, काठमाण्डौ महानगरले घर घरमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने कार्यक्रममा पनि जोड दिएको छ । युवा केन्द्रित कार्यक्रमलाई अघि बढाउँदै महिलाको सीप विकासमार्फत स्वरोजगारदेखि मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने महानगरले जनाएको छ । पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनर्स्थापना बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण लगायतका कार्यक्रमले पनि बजेट पाएका छन् । यस्तै सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा करिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात व्यवस्थापनका लागि कम्पनी स्थापना तथा सञ्चालन जस्ता योजना तथा कार्यक्रमहरु समेत बजेटमा समेटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । पर्यटकीय पोखरालाई सुन्दर र पूर्वाधारयुक्त विकसित पर्यटनस्थलमा विकास गर्न मुख्यमुख्य ठाउँ र लेकसाइडको सौन्दर्यकरण, सुविधासहितको ल्यान्डफिल साइट निर्माण, अटो भिलेज, पोखरा चक्रपथ, एयरपोर्टदेखि लेकसाइड फास्टट्र्याक, ट्राफिक व्यवस्थापन, पेवा हर्वल ट्रेक, ढल व्यवस्थापन लगायतका योजनालाई पोखरा गौरवका योजनामा राखेको छ । 

भरतपुर महानगरपालिकाले विगतमा सुरु भएका तर सम्पन्न हुन नसकेका अधुरा योजनालाई प्राथमिकताका राखेर बजेट ल्याएको छ । शिक्षा तथा सहरी पूर्वाधारमा समेत महानगरले बजेट छुट्याएको छ । छोरी बीमा कार्यक्रम, विपद् व्यवस्थापन, करदाताको अभिलेख डिजिटल बनाउने भरतपुर महानगरपालिकाको योजना छ । 

विराटनगर महानगरपालिकाले ‘सुखी नगरवासी, समृद्ध नगर’ भन्ने लक्ष्य लिएर त्यसलाई पूर्णता दिन सहरी पूर्वाधारको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणका विकास गरी नगरवासीको जीवनमा गुणात्मक विकास गर्ने लक्ष्यका साथ बजेट ल्याएको छ।

बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीको विकास गर्ने, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कृषि, पशु, सहकारी, रोजगारी र पर्यटनको विकास गरी आर्थिक वृद्धिमा टेवा पुर्याउने, पिछडिएका वर्ग तथा समुदायकालागि सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने, वन तथा वातावरण संरक्षण गरी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा विभिन्न समुदायको भाषा, कला र सस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । ‘छोरी बचाऊ छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिँदै गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएकाहरु र ज्येष्ठ नागरिकलाई अस्पतालसम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सञ्चालन गर्ने उल्लेख गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाले पनि  पूर्वाधार, शिक्षा र सामाजिक विकासमा प्राथमिकता दिएर बजेट ल्याएको छ । सरसफाइ, सुचना, प्रविधि तथा सञ्चार, वन तथा वातावरण, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रका लागि समेत महानगरपालिकाले बजेट राखेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया