महोत्तरीको सीमावर्ती क्षेत्र हुँदै भारततर्फ जाँडरक्सी तस्करी

 असार १२, २०७९ आइतबार ८:२३:५१ | रासस
unn.prixa.net

महोत्तरी - भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ जाँड-रक्सी तस्करी गर्ने क्रम बढ्दै गएकाे छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै जाँड-रक्सी तस्करीमा वृद्धि भएको हो ।

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ पालिका पर्दछन् ।  सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो हुँदै जाँड-रक्सी भारततर्फ लाने गरेका पाइएको हो ।

यही असार महिनाका अहिलेसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका जाँड-रक्सी नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् । यसरी नियन्त्रणमा लिइएका जाँड-रक्सीमा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ ।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र  मटिहानीबाट जाँड-रक्सी बरामद भएको छ । तस्करले धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताउनुभयो । 

सीमापारि भारतको  बिहारमा जाँड-रक्सी बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ । त्यसैले जाँड-रक्सी चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ । सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यापछ्याप्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया