श्रीलङ्कामा इन्धनको समस्या थप जटिल : समयमै खरिद गर्न आर्थिक अभाव

 असार १२, २०७९ आइतबार ९:४८:४१ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा पेट्रोल तथा डिजलको चरम अभाव भएको छ । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभाव भएपछि नागरिक इन्धन अभावको सामना गर्न बाध्य भएका छन् ।

श्रीलङ्का सरकारले इन्धन छिट्टै आइपुग्ने जनाएको छ । ऊर्जामन्त्री कञ्चन विजेसेकेराले यो हप्ता आइपुग्नुपर्ने इन्धन आउन नसक्दा कठिनाइ भएको भन्दै क्षमा माग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस हप्ताको सुरु र अर्को हप्तासम्ममा आउने पेट्रोल, डिजल र इन्धनको कच्चा पदार्थको ढुवानी बैंकिङ्ग तथा व्यवस्थापकीय कारणले गर्दा समयमै आइपुग्ने अवस्था नदेखिएको मन्त्री विजेसेकेराले बताउनुभएको छ ।

श्रीलङ्काले इन्धन, खाद्यान्न र औषधिलगायत अत्यावश्यक वस्तुको अभाव झेल्दै आएको छ । आयातलाई धान्न विदेशी मुद्राको अभाव छ । साथै श्रीलङ्काले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ । गएको हप्ता सरकारले ऊर्जा सङ्कटका कारण आवतजावत कम गर्न दुई हप्ताका लागि विद्यालयसँगै कम प्राथमिकताका संस्थाहरू बन्द गरेको थियो ।

इन्धन अभावकै कारण अस्पतालमा स्वास्थ्य कर्मचारीको उपस्थितिमा समेत कमी आएको खबरमा उल्लेख छ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया