कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन : शिक्षा मन्त्री

 असार १२, २०७९ आइतबार १३:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । 

आज आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको बताउनुभयो ।

मन्त्री पौडेलले सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ६ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताउनुभयो । उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । यो नीति तथा कार्यक्रममा आयो तर बजेटमा यो आएन । नीति तथा कार्यक्रममा कक्षा ८ सम्म पुर्‍याउने गरी आए पनि बजेटमा अहिलेलाई यो वर्ष कक्षा ६ सम्म भन्ने भाषामा आयो ।’

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुरा प्रविधीमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । सबै क्षेत्रमा पेपरलेस (कागजविहीन) प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया