ललितपुरमा ठेलामा पानीपुरी–चटपटे र फलफूल बेच्न रोक

 असार १२, २०७९ आइतबार १४:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाले फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले आज आइतवारदेखि गाडीमा माइकिङ गरेरै फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको हो ।

हैजाको जोखिम कोरोना महामारीको जस्तै डर लाग्दो हुने भएकाले बेलैमा सचेत रहन यो काम सुरु गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु गरिएको माइकिङ महानगरका २९ वटै वडामा एक हप्तासम्म गरिनेछ । माइकिङमा हैजा कसरी लाग्छ ? यसबाट बच्न के–के गर्नुपर्छ ? र यसका लक्षणहरू के – के हुन् ? भन्नेबारेको जानकारी दिइनेछ ।

यसका साथै फुटपाथमा असुरक्षित ढङ्गले पानीपुरी र चटपटे बेच्न नपाइने जानकारी पनि गराइनेछ । सफा पानी र पञ्जाको प्रयोग गर्ने होटल तथा रेस्टुरेन्टहरूमा भने बेचबिखन गर्न दिइनेछ । ठेलागाडाको प्रयोग गरेर पानीपुरी मात्रै होइन फलफूलसमेत बेच्न नपाइने प्रमुख हाछेँथुले जानकारी दिनुभयो ।

महानगरमा नगर प्रहरीका दुई वटा टोली खटिनेछन् । जसमा एक टोली गाडीमा माइकिङका लागि  र अर्को टोली फुटपाथमा बेचबिखन भए/नभएको जाँच्नका लागि खटिने प्रमुख हाछेँथुकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया