ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण अस्पष्ट बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान थालेको छ ।
गायिका सुनार काठमाण्डौको बाँनियाटारमा रहेको आफ्नै कोठामा हिजो शनिवार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रवार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो ।
त्यस स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टाटसभन्दा घटना प्रकृति निकै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि यो विषयलाई पुष्टि हुने देखिन्छ । उहाँले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
‘घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ’, मैनालीले भन्नुभयो । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत अनुसन्धान थालेको छ ।
सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिवार बिहान काठमाण्डौको नेपालटारमा रहेको उहाँको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिन थालेका छन् । उनीहरूले प्रहरी वृत्त बालाजु पुगेर घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू छानबिनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्याएको छ । ‘न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारबाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ’, बिजीले भन्नुभयो ।
गायिका सुनारको स्टाटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबाबमा लेखिएको वा अरूले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भन्नुभयो, ‘मोबाइल नभेटिएकाले मृत्युपछि स्टाटस अरूले नै लेखेको पनि हुनसक्छ या मृत्युअघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ, त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।’
सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुनुहुन्थ्यो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समयअघि काठमाण्डौमा आयोजना गरेको छैटौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित हुनुभएको थियो । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।