थाइल्यान्डको थाई स्माइल एअरवेजद्वारा बैङ्कक–काठमाण्डौ सिधा उडान सुरु

 असार १८, २०७९ शनिबार ८:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एअरवेजले बैङ्कक–काठमाण्डौ–बैङ्कक गन्तव्यमा सिधा उडान सुरु गरेको छ ।

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैङ्ककबाट हिजो त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमान यात्रु लिएर बैङ्कक फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

कम्पनीले कुल १ सय ६२ सिट क्षमताको एअरबस ३ सय २० विमानबाट उडान भरेको छ । थाइल्यान्डको बैङ्कक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एअरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो ।

कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ।     

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया