फाेहर उठाउन सम्झाैता गरेकाे कम्पनीले नै 'फुटपाथ' मा फाेहर थुपार्दै

 असार १९, २०७९ आइतबार १३:४७:३ | रासस
unn.prixa.net

पुतलीसडककाे पैदलमार्गमा थुपारिएकाे फाेहर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फुटपाथ) मा थुपार्ने गरेको छ । 

काठमाण्डाै महानगरबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको 'स्वच्छ वातावरण स्वस्थ मानव जीवन' नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

फोहरका कारण काठमाण्डाैमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाण्डाैकाे मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ, त्यस क्षेत्रमा पसल सञ्चालन गर्दै आउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

काठमाण्डाैका अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । 

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना निकाले पनि पुतलीसडक क्षेत्रमा भने दुवै थरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना निकाले पनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया