युक्रेनको लिसिचान्स्क सहर सहित लुहान्स्क क्षेत्र कब्जा गरेको रुसको दाबी

 असार १९, २०७९ आइतबार १९:३८:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले पूर्वी युक्रेनको लिसिचान्स्क सहर कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर रुसी फौजले लिसिचान्स्क सहर कब्जा गरेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि बिहान रुसी रक्षा मन्त्रालयले लिसिचान्स्कलाई पूरै घेरेर सहरभित्र आक्रमण गरिरहेको बताएको थियो । यो सहरसँगै युक्रेनको लुहान्स्क क्षेत्र नै रुसको कब्जामा आएको रुसी रक्षा मन्त्री सर्गेई शोइगुले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । तर युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता युरी साकले रुसी दाबीकाे खण्डन गर्दै लिसिचान्स्क सहरको अवस्था अत्यन्तै जटिल भए पनि रुसको कब्जामा भने गइनसकेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले तत्कालको क्षति कम गर्न आफूहरू केही पछि हट्न सक्ने भए पनि त्यसलाई चाँडै फिर्ता लिन सक्ने बताउनुभयो ।

यसैबीच रुसले सीमा क्षेत्रमा रहेको बेल्गोरोड सहरमा युक्रेनले मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । रुसी सहर बेल्गोरोडमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ भने ११ वटा अपार्टमेन्ट र ३९ वटा घरमा क्षति पुगेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता गोर कोनाशेन्कोभले रुसी सहरको आवासीय क्षेत्रमा युक्रेनले नियोजित रूपमा मिसाइल आक्रमण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । बेल्गोरोड सहर युक्रेनी सीमाबाट ४० किलोमिटर टाढा पर्छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया