१७ डीआईजीलाई दर्ज्यानी चिह्न

 असार १९, २०७९ आइतबार १९:५३:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज आइतवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । पदोन्नतिपछि दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा हुनुहुन्छ । 

यसैबीच दर्ज्यानी चिह्न पप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनुभयो । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्ये चार महिला हुनुहुन्छ । यही असार ८ गते बढुवा सिफारिस समितिले उहाँहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । 

तस्बिर : नेपाल प्रहरी

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया