कर्णालीले विज्ञापन होइन काम गर्छ : मुख्यमन्त्री शाही

 असार २०, २०७९ सोमबार १५:५०:३५ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापनभन्दा काम बढी गर्दै आइरहेको दाबी गर्नुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सोमवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गर्नुभयो । 

उहाँले समयको महत्त्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति बेहोर्न नपर्ने जनाउनुभयो । विपदमा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘पत्रकारको लेखाइको मनोविज्ञान सकारात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ । विपदमा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले संवेदनशील पत्रकारिताको जिम्मेवारी पूरा हुन्छ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको अजात शत्रु भएकाले यसबाट बच्न र बचाउन पत्रकारको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले यहाँका १७ लाख नागरिकलाई विपदबाट बचाउन सत्य, तथ्य सूचना र जानकारीको मुख्य जिम्मेवार पत्रकार नै भएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले विपदमा केन्द्रित रहेर काम गर्न र यसमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिका लागि दुई दिनको प्रदेशस्तरीय क्षमता अभिवृद्धिको तालिम आयोजना गरिएको बताउनुभयो । विपद्सँग सम्बन्धित यस कार्यक्रममा यहाँका सात जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । यस तालिमको प्रशिक्षक भवानी बराल रहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया