चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

 असार २२, २०७९ बुधबार १०:५४:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर शिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो । बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताउनुभयो । गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् । 

गएकाे आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताउनुभयो । एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ । नमूना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया