श्रीलङ्कामा औषधिको मूल्य आकाशियो, झन् बढ्दै अभाव

 असार २२, २०७९ बुधबार १९:०:४८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधि तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । 

सरकारी मेडिकल अफिसर्स एसोसिएशन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ । 

जीएमओए सञ्चार समितिका सदस्य डा. प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधि किन्न अस्पताल पुग्ने नागरिकको भिड देखिन बताउनुभएको छ । कोलाबेजले भन्नुभयो, ‘पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने धेरैजसो मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन् । उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएको छ । औषधि दिने अस्पतालहरु सीमित भएको भन्नुपर्ने अवस्था आउनु दुर्भाग्य हो । यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो । तर यसलाई घटाएर पछि दुई हप्तामा मात्रै सीमित गरिएको थियो । औषधि व्यवस्थापन मामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ । अहिले यो एक हप्तासम्म सीमित छ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको सङ्कटसँगै देखिएको आर्थिक सङ्कटका कारण धेरै औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन् । 

डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण देशको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो ।

विशेषगरी श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भए पनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो । 

श्रीलङ्काको कुल वैदेशिक ऋणमध्ये सन् २०२६ सम्ममा झन्डै २५ अर्ब अमेरिकी डलर चुक्ता गर्नुपर्ने सर्तको पालना गर्दै देशले यस वर्ष झन्डै सात अर्ब अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गरिरहेको छ । आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया