जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाउनुभयो : अध्यक्ष प्रचण्ड

‘माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ’

 असार २३, २०७९ बिहीबार १३:३३:४८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको खडेरी परिरहेको देशको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ । 

काठमाण्डौमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जिज्ञासाको जवाफ दिँदै उहाँले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताउनुभयो । अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गर्नुभयो । 

उहाँले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अर्थ्याउनुभयो । ‘अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टीकरण दिँदै आउनुभएको र बुधवार संसदमा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ’, अध्यक्ष दाहालले भन्नुभयो । 

बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधि सभाले ११ सदस्यीय समिति गठन गरेको छ । 

अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ । यही असार १९ गते आइतवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया