चराले सफा गर्ने निस्कोट बराह ताल

 असार २४, २०७९ शुक्रबार १३:३०:१४ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

म्याग्दी – गाउँको सिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिक रूपमा बनेको यो तालको भू–बनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पक्षीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दछन् ।

यो तालको नाम बराह ताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ मा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्क पर्ने गर्दछन् । ताललाई एकोहोरिएर हेरिरहँदा आफैँलाई बिर्सन पुग्छन् पर्यटक । निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराह तालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । 

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालले अहिले पर्यटकलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा थोरै पर्यटक पुग्छन् । भौगोलिक रूपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन् । झन्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराह तालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । 

समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेकाे बराह ताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यकाे प्रत्यक्षरूपमा अवलोकन गर्न सकिन्छ । बराह तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीयवासी रमेश पुनले बताउनुभयो ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृश्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दुरीमा पर्ने बराह ताल स्थानीयवासीका अनुसार झन्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्छन् । 

बराह तालमा बिहान सबेरै दुई वटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । छिमेकी जिल्ला बाग्लुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्त्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतहरू सुन्न पाइन्छ । बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ । 

बराह ताल मुख्य आकर्षणको रूपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराह तालको पर्यटन प्रवर्द्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । प्रशस्तै पर्यटकीय सम्भावना रहेको भए पनि यस तालको बारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको वडाध्यक्ष पुनको भनाइ छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • michael jugjali

    July 8, 2022, 4:32 p.m.

    यो ताल निस्कोत मा होइन मालिका गाउँ पालिका ७ बिम बिमबाङ मा पर्छ ताल निस्कोत मा पनि छ तर तपाई ले जुन फोतो पोस्ट गर्नु भाको छ त्यो बिमबाङ मा पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया