सङ्खुवासभामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

 असार २४, २०७९ शुक्रबार १६:६:४० | नवीन गुरुङ
unn.prixa.net

खाँदबारी अस्पतालमा घाइतेहरूको उपचार हुँदै । तस्बिर : नवीन गुरुङ/उज्यालाे

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेकाे ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ भने ४२ जना घाइते भएका छन् ।

आज शुक्रवार दिउँसो १ बजेतिर पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा चैनपुरको दुम्कटा भन्ने ठाउँमा को १ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयाे ।

ट्र्याक्टर दुर्घटनामा घाइते भएका चैनपुर १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षीय केशव कार्कीको उपचारको क्रममा ज्यान गएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार ट्र्याक्टरमा ४४ जना चढेका थिए ।     

घाइतेहरूको तुम्लिङटारमा रहेकाे मनकामना अस्पताल र जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक चैनपुर १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया