सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा हुनुपर्छ : मन्त्री चौधरी

 असार २९, २०७९ बुधबार १०:२६:२७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर–सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मङ्गलवार बेलुकी सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्म ९० प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने गरी तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । ‘खानेपानीमा सङ्घ, प्रदेश र स्थानीय तहले कस्ता–कस्ता योजना सञ्चालन गर्ने भन्ने विधि तयार गर्नुपर्छ, सङ्घबाट प्रदेशमा गएको ससर्त अनुदानको प्रगति विवरण मन्त्रालयमा आउनुपर्छ, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका योजनाको विवरण केन्द्रमा नआउँदा कार्यक्रममा दोहोरपना भएकाले समन्वय आवश्यक भएको छ’, मन्त्री चौधरीले भन्नुभयो ।

कुनै योजनामा २० वर्षदेखि पाँच लाख रुपैयाँको बजेट जाँदा पनि पूरा नभएका उदाहरण भेटिएकाले पनि समन्वय अति आवश्यक भएकोमा खानेपानी मन्त्रालयले जोड दिएको थियो । तीनै तहका सरकारको संयुक्त लगानी कोष बनाएर काम गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले खानेपानीको स्रोत नभएका स्थानमा लिफ्ट आयोजना सञ्चालन गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खानेपानीका बारेमा तीनै तहका सरकारले गरेका कामको समन्वय गर्न सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले विश्वमा पेट्रोलपछि खानेपानीको समस्या आउने देखिएकाले जलस्रोतको धनी देशले विश्वमा पानी बेच्न सक्ने गरी तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार अन्त्य गरी खानेपानी योजना कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो ।

बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धरले गुणस्तरीय खानेपानी प्रवाह गर्न प्रदेश र पालिकामा जनशक्ति अभाव रहेको बताउनुभयो । आधारभूत खानेपानी र स्वच्छ खानेपानीको तथ्याङ्कमा आफू नै विश्वस्त हुन नसकेको उहाँले बताउनुभयो । पर्याप्त मात्रामा खानेपानीका प्रयोगशाला र परीक्षण केन्द्र स्थापना गरिनुपर्ने मन्त्री मानन्धरको भनाइ थियो ।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मौलिक हकका रूपमा व्यवस्था गरिएको स्वच्छ खानेपानीको हक कार्यान्वयन गर्न दुई वर्षे कार्ययोजना बनाएर तीन लाख घरधुरीलाई सेवा दिन लागिएको जानकारी गराउनुभयो । सङ्घीयताको मूल मर्म अधिकारको विकेन्द्रीकरण भए पनि केन्द्रीकृत प्रणालीको अभ्यासले अन्य क्षेत्रमा जस्तै खानेपानी आयोजना सञ्चालनमा पनि समस्या रहेको उहाँको विचार थियो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले तीनै तहका सरकारको प्राथमिकतामा अझै खानेपानी नपरेकाले स्वच्छ खानेपानीको मौलिक हक कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । नेपालमा भएको जलस्रोत उपयोग गरेरै देशले समृद्धि प्राप्त गर्नसक्ने उहाँको भनाइ थियो । 

 कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, सङ्घीय खानेपानी मन्त्रालयका सहसचिव रत्नप्रसाद लामिछाने, सहसचिव मीना श्रेष्ठलगायत प्रदेश मन्त्रालयका सचिव एवम् प्रतिनिधिले तीनै तहबाट खानेपानीका क्षेत्रमा भएका काम, सुधार हुनुपर्ने विषय र आउँदो कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया